दमौली । विभिन्न अपराधमा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीविरुद्ध जिल्ला प्रहरी कार्यालयले विशेष अभियान चलाएको छ । हालैमात्र सरुवा भई आउनुभएका प्रहरी उपरिक्षक अरुण पौडेलले पत्रकार सम्मेलनका क्रममा फरार प्रतिवादी पक्राउ गर्नेतर्फ विशेष ध्यान हुने बताएका थिए । लगत्तै प्रहरीले धमाधम फरार प्रतिवादी पक्राउ गर्न थालेको छ ।
गत असार तेस्रो सातादेखि मात्रै जिल्लामा १० जना फरार प्रतिवादी पक्राउ परिसकेका छन् । सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, लागुऔषध, अवैध काठ ओसारपसारलगायतका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैक्रममा आइतबार तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउपर्नेमा बहुविवाह, चोरी र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए।
बहुविवाह मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर फरार रहेका एक प्रतिवादी १५ वर्षपछि पक्राउ परेका हुन् । पक्राउपर्नेमा म्याग्दे गाउँपालिका–२ बस्ने ३६ वर्षीया शशि थापा रहेको उनले बताए। थापालाई आइतबार निजकै घरबाट पक्राउ गरिएको थियो । बहुविवाह मुद्दामा जिल्ला अदालतले उनलाई विसं २०६२ भदौ २५ गते एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका थापालाई आज नै अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार बाँकी रहेको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
यसैगरी लागुऔषध मुद्दामा फरार प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउपर्नेमा आँबुखैरेनी गाउँपालिका–२ ढकालटार बस्ने २२ वर्षीय सन्तोष गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङलाई जिल्ला अदालतले विसं २०६३ असोज ६ गते १० महिना २५ दिन कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । निजलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले आइतबार घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । गुरुङलाई पनि जिल्ला अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
त्यसैगरी प्रहरीले चोरी उद्योग मुद्दामा कैद भुक्तान गर्न एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा म्याग्दे गाउँपालिका–४ बस्ने ४५ वर्षीय मनबहादुर आले रहेका छन् । जामुनेस्थित बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा सुरक्षाकर्मीका रुपमा कार्यरत आलेले सहकारीको साँचो फोडेर चोरी गर्ने प्रयास गरेका थिए ।
चोरी उद्योग मुद्दामा तत्काल धरौटी राखी छुटेका आलेविरुद्ध जिल्ला अदालतले विसं २०७६ पुस २९ गते एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तोकिएको कैदबाट ११ महिना ११ दिन कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाले पक्राउ परेका आलेलाई कैद भुक्तानका लागि कारागारा चलान गरिएको छ ।
यस्तै प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका म्याग्दे गाउँपालिका–२ बस्ने ५२ वर्षीय उदयराज खनाललाई २४ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालतको विसं २०५३ भदौ २४ गतेको फैसलाअनुसार खनाललाई सात दिन कैद फैसला भएको थियो । निज बाँकी रहेको कैद भुक्तान नगरी फरार रहेकाले घरबाटै पक्राउ गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै लागुऔषध मुद्दाका प्रतिवादी आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय युवराज गुरुङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका प्रतिवादीको खोजीकार्यमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया