नेकपा विवाद थामथुम पार्न ओलीले फ्याँके महाधिवेशनको ‘कार्ड’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मथ्थर पार्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको प्रस्ताव गरेका छन् ।

पार्टीमा जारी विवाद समाधानको प्रयास स्वरुप शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओली महाधिवेशनमा पार्टीको एकता महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

पार्टीभित्र विवाद कायमै रहेको बेला ओलीले हाललाई आफूले राजीनामा नदिने र मंसिरमा महाधिवेशन गरेर त्यसपछि प्राप्त हुने म्यान्डेटअनुसार बढ्ने प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा ईश्वर पोखरेल र विष्णु पौडेलले सहमति जनाउँदै मंसिरमा महाधिवेशन सम्भव हुने धारणा राखेका थिए । तर बामदेव गौतम झलनाथ खनाललगायतले भने यो सम्भव नभएको र ओलीले पद जोगाउन महाधिवेशनको कार्य फ्याँकेको दावी गरेका छन् ।

स्रोतका अनुसार ओलीको महाधिवेशनको कार्डलाई लिएर पार्टीभित्र तीव्र बहस भएपनि अन्य आन्तरिक सहमति समेत भएकाले हाललाई पार्टीभित्रको विवाद केही मत्थर भएको बताइएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल सकारात्मक दिशामा अघि बढेको प्रतिक्रिया दिए ।

यसअघि ओलीले आफ्नो सरकार ढाल्न भारतको हात रहेको अभिव्यक्ति दिएपछि पार्टीभित्र विवाद चर्किएको थियो । सोही विवादका कारण ओलीको राजीनामा माग भएको थियो भने पार्टीमा तीब्र गुटबन्दी भएको थियो ।

यसैबीच आज सचिवालय बैठकपछि ओली र प्रचण्डले राष्ट्रपतिसँग करिब दुई घण्टा छलफल गरेका छन् । छलफल नेकपाभित्रकै आन्तरिक विषयमा केन्द्रीत रहेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?