टिकापुर । करदाता सेवा कार्यालय लम्की कैलालीले गत आर्थिक वर्षमा ३३ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६र७७ मा ३३ वटा शीर्षकबाट ३३ करोड ९९ लाख ५५ हजार १०३ रुपैयाँ राजस्व सङ्कलन भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सुरेन्द्र पोख्रेलले जानकारी दिए ।
“उत्पादन, वस्तु बिक्री वितरण, परामर्श तथा ठेक्का, सञ्चार, बीमा, हवाई तथा अन्य सेवा, वेदर्तावाल सेवाको मूल्य अभिवृद्धि करबापत १३ करोड १० लाख ५७ हजार ४५८ रुपैयाँ राजस्व सङ्कलन भएको छ”, कार्यालय प्रमुख पोख्रेलले भने, “विभिन्न आठ वटा आयकर शीर्षकबाट १२ करोड ३८ लाख ५४ हजार १६१ रुपैयाँ र सुर्तीजन्य पदार्थ, मदिरा, बियर र अन्य औद्योगिक उत्पादनको अन्तःशुल्कबाट दुई करोड ४० लाख ३९ हजार ३८८ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।”
व्यक्तिगत पूँजीगत लाभकरबाट एक करोड ९६ लाख ९६ हजार ७६१ रुपैयाँ, बहाल करबाट ५७ लाख ४३ हजार ७३ रुपैयाँ, लाभांश करबाट १९ लाख ५० हजार ११२ रुपैयाँ, आकस्मिक लाभकरबाट एक लाख ६८ हजार ८६९ रुपैयाँ राजस्व सङ्कलन भएको पोख्रेलले जानकारी दिए ।
पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबाट दुई करोड १९ लाख २६ हजार ४४३ रुपैयाँ ब्याज करबाट एक करोड १५ लाख १६ हजार ३३६ रुपैयाँ र स्वास्थ्य सेवाबापत दुई हजार ५०० राजस्व सङ्कलन भएको छ । अझै पनि केही करदाताले राजस्व कार्यालय धनगढीको कोडमा रकम जम्मा गरिरहेका र त्यसलाई यस कार्यालयको कोषमा जम्मा गर्नसके अर्को वर्ष राजस्व अझै बढी सङ्कलन हुने प्रमुख पोख्रेल बताउँछन् । “सबैलाई करको दायरामा आउन आग्रह गरिरहेका छौँ । लामो समयसम्म कर नतिरेका उद्योगी, फर्म सञ्चालकका लागि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पछिल्लो तीन वर्षको कर तिरे अरु कर छुट हुने सरकारले व्यवस्था गरेको छ । यो अवसरको सदुपयोग गरौँ”, उनले भने ।
विसं २०७५ असोज महिनाबाट करदाता सेवा कार्यालय लम्कीले सेवा शुरु गरेको थियो । करदाता सेवा कार्यालय लम्कीबाट ४० करोड रुपैयाँभन्दा तलको कारोवार गर्ने व्यक्ति वा संस्थाले सेवा लिन पाउँछन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया