दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिराबाट आफन्त गुमाएका तनहुँको व्यास नगरपालिका–९ माझफाँटका केशर थापालाई शुक्रवार राहत रकम प्रदान गरेका छन् । श्रीमती, छोरा र बुहारीको पहिराबाट निधन भएपछि व्यास नगरपालिकाले थापालाई राहत रकम उपलब्ध गराएको हो ।
उक्त रकम वरिष्ठ नेता पौडेलले शुक्रवार पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत थापालाई हस्तान्तरण गरे। पहिरामा पुरिएर घाइते ५० वर्षीय थापा गण्डकी मेडिकल कलेजमा उपचाररत छन् । पहिरामा पुरिएर थापाका श्रीमती ४० वर्षीया कमला थापा, छोरा २४ वर्षीय मनोज, बुहारी २१ वर्षीया अञ्जना थापाको मृत्यु भएको थियो । कान्छा छोरा २० वर्षीय राजेश अझै बेपत्ता छन् ।
पहिराबाट ज्यान गुमाएकाका तीन जना मृतकको जनही रु ५० हजारका दरले रु एक लाख ५० हजार र घाइतेको उपचारका लागि रु २५ हजार गरी कूल रु एक लाख ७५ हजार वरिष्ठ नेता पौडेलले अस्पतालमा पुगी हस्तान्तरण गरेका हुन् ।
सो क्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष सुरेश थापालगायत सहभागी थिए । नगरपालिकाले पहिराबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक रु ५० हजार र घाइतेको उपचारका लागि ४० हजार रुपैयाँसम्म उपलब्ध गराउने निर्णय गरेको थियो । सोही क्रममा वरिष्ठ नेता पौडेलले पहिराले पुरिएर घाइते ऋषिङ गाउँपालिका–८ भैँसीकिलेकी ६० वर्षीया ज्योतिमाया थापालाई पनि भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया