काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे गरेको टिप्पणीले अहिले भारतमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । प्रधानमन्त्री ओलीले राम जन्मिएको अयोध्या पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएपछि भारतमा विभिन्न टिकाटिप्पणी भइरहेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली २०७५ वैशाख २८ गते उस्तै कपडामा सजिएर राम भारतको अयोध्यामा जन्मेको र सीता नेपालमा जन्मेको मन्तव्य दिएका थिए । ओली र समकक्षी मोदीले ‘जनकपुर–अयोध्यामैत्री बस सेवा’ सुरुवात समेत गरेका थिए। तर अहिले ओलीले एकाएक अयोध्या नेपालमै रहेको अभिव्यक्ति दिएका हुन् ।
ओलीको वक्तव्यबाजीले नेपाल र भारतबीच शताब्दीऔंदेखिको धार्मिक र सांस्कृतिक सम्बन्धलाई समेत विवादित बनाइदिएको छ।
उनको अभिव्यक्ति नेपालभित्रका बौद्धिक समुदाय, राजनीतिकर्मी, पत्रकार, तथा सामाजिक अगुवाहरुले सामाजिक सञ्जालमार्फत ओलीको अभिव्यक्तिको पक्षविपक्षमा प्रतिक्रिया जनाइरहँदा भारतमा भने ओलीको अप्रासंगिक र अनुपयुक्त अभिव्यक्तिहरुलाई कार्टुन तथा मजाकको विषय बनाउन थालिएको छ।

ओलीले यसअघि संसदको रोस्टमबाट प्रधानमन्त्री ओलीले भारतीय नीति “सत्यमेव जयते हो की सिंहमेव जयते हो” भनेर प्रश्न गरेका थिए । यस्तै संसदमा चीनको भन्दा भारतबाट आएको कोरोनाभाइरस खतरनाक भएको भन्ने समेत दावी पनि गरे ।
यसो त गत असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा ओलीले भारतले आफूलाई प्रधानमन्त्री पदबाट सत्ताच्युत गर्न लागेका र त्यसमा नेपालकै नेताहरु समेत संलग्नता रहेको बताए । राष्ट्रपति माथि महाभियोग लगाउने तयारी भैरहेको भन्ने हल्का टिप्पणी पनि गरे ।
यतिमात्र होइन नेपालीको इम्युनिटी पावर धेरै रहेको र कोरोना अदुवा र बेसार पानीले नै निको हुने टिप्पणी पनि गरे ।

यहीबीचमा आदिकवि भानुभक्तको जन्मजयन्तीको प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा उनले भारतको अयोध्या नक्कली भएको र भारतले नेपालको संस्कृति माथि अतिक्रमण गरेको गरेको बताएका थिए । ओलीले सो तर्क अघि सारेसँगै भारतमा समेत तरंग पैदा भएको हो ।
यस्ता अभिव्यक्तिले भारतको जनस्तरमा नकारात्मक रुपमा फैलिने खतरा रहेको कतिपयको भनाइ छ । देशको प्रधानमन्त्रीको यस्तो तथ्यहीन आरोपहरुले उनको विश्वसनीयता पनि आँच आउने बुद्धिजिवीहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया