फेरि विवादमा तानिए विदुरका मेयर, पत्रकारलाई ज्यान मार्ने धम्की

नुवाकोट । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित फेरि विवादमा तानिएका छन् । पत्रकारप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका मेयर पण्डितले नुवाकोटका पत्रकार शिव देवकोटालाई ज्यान मार्ने धम्की दिएका हुन् ।

बिहीबार देवकोटाले आफूलाई मेयर पण्डितले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नगर प्रमुख पण्डितले ज्यान मार्ने धम्की दिए । बाँच्ने कसरी होला ।’

समाचारको विषयमा फोन गर्दा आफूलाई मेयर पण्डितले कुरै नसुनी आक्राेशित हुँदै ज्यान लिने धम्की दिएको देवकोटाले बताए ।  मेयर पण्डितसँग यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनकाे फोन उठेन ।

मेयर पण्डित

यसअघि पनि मेयर पण्डितले नगरपालिकाको नगरसभामा पत्रकारलाइ समाचार संकलनमा रोक लगाउन उर्दीमा जारी गरेका थिए ।

असार १० गते नुवाकोटको बट्टारस्थित होटल सताञ्चुलीको सभाहलमा आयोजित विदुर नगरपालिकाको सातौं नगरसभाको निमन्त्रणा पाएपछि समाचार संकलनका लागि सभास्थल पुगेका सञ्चारकर्मीहरुलाई सभामा केही जनप्रतिनिधिहरुले नाराबाजी गरेर सभा अवरुद्ध गरेपछि उनले ‘पत्रकारका कारण सभा अमर्यादित’ हुनसक्ने भएकाले निस्कन उर्दी जारी गरेका थिए । ननिस्के जसरी पनि निकाल्ने’ भन्दै उनले नगरसभाको समाचार संकलनमा रोक लगाएका थिए । मेयरकाे साे हर्कतकाे चौतर्फी विरोध भएको थियो  ।

अहिले फेरि पण्डितले धम्की दिएपछि नुवाकोटमा यस विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

काँग्रेस निकट ट्रेड युनियनका जिल्ला अध्यक्ष , प्रेस युनियन पूर्व केन्द्रीय सदस्यसमेत रहेका देवकोटा उत्तरगया दैनिक र नुवाकोट जागरणका प्रकाशक तथा सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?