काठमाडौं । दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुसँगै विश्वका धेरै देशहरुमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या बढ्दै गएपछि बार, विद्यालय र पर्यटन क्षेत्रका लागि चुनौतीपूर्ण भएको छ ।
सरोकारवालाहरुले बार, विद्यालय र पर्यटन क्षेत्रका गतिविधि अझै एक महिना बन्द नै रहनसक्ने अनुमान गरेका छन् ।
भारतमा एकैदिनमा सङ्क्रमित भएकाहरुको सङ्ख्या ३२ हजार सात सयभन्दा बढी भएको छ भने देशका कतिपय ठाउँहरुमा निषेधात्मक व्यवस्थाहरुलाई कडाइ गरिएको छ ।
देशका सरकारी अधिकारीहरुले सामाजिक दुरी कायम गर्नेसहितका आधारभूत सतर्कताप्रति आम नागरिकले वेवास्ता गर्न थालेको बताएका छन् । सार्वजनिक स्थलमा रहेका बेला मास्क अनिवार्य लगाउनु पर्ने नियम भएपनि नलगाएको पाइएपछि हजारौँलाई कारबाही गरिएको छ ।
जापानमा प्रधानमन्त्री सिन्जे आबेले पर्यटन क्षेत्रलाई पुनः सञ्चालन गर्ने बारेमा पुनर्विचार गर्नुपर्ने अवस्था रहेको बताएका छन् । नाकाबन्दी र विदेशीलाई प्रवेश रोक्ने निर्णय अझै कायमै राख्नुपर्ने उनको भनाइ छ । टोकियोमा दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमितहरु बढीरहेका छन् ।
उनले भनेका छन् , “कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या हामीले हेरिरहेका छौँ, जापान भित्र नै भ्रमण गर्न पनि दिने कि नदिने भन्ने बारेमा हामीले सोचिरहेका छौँ, आगामी हप्तादेखि यससम्वन्धी निर्णय कार्यान्वयन गर्नेछौँ ।”
जापानको रात्रिकालीन सेवाहरु जस्तै बार, क्लव, पार्लरलगायतले कोरोनाभाइरस सङ्क्रमण फैलाउन सहयोग गरिरहेको देखिएको सरकारी अधिकारीहरुको भनाइ छ ।
उनीहरुले जापानका शैक्षिक संस्थाहरु विषेश गरेर साना बालबालिकाहरुले अध्ययन गर्ने ठाउँमा पनि संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन् ।
अष्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनले आइसोलेसनको व्यवस्था र भाइरस विरुद्धको नीतिको पक्षमा पैरवी गर्नुभएको बताइएको छ । तर आर्थिक अवस्थालाई कसरी सुधार गर्ने भन्ने पक्षमा पनि उनले उत्तिकै चिन्ता गर्नुभएको देखिएको छ ।
अन्य देशहरुमा पनि कोरोनाभाइरसको सङ्क्रमित नरोकिएकाले त्यसको नियन्त्रणका लागि के कस्ता उपाय अप्नाउने र अर्थतन्त्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती देखिदै गएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया