काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा आएको बाढीपहिराबाट घर भत्किएकाहरुको घर बनाउन पहल गर्ने भएका छन् । गत असार २५ गते आएको बाढीपहिरोका कारण विस्थापितले सुरक्षित ठाउँमा जग्गा खोजेका अवस्थामा घर बनाउन पूर्वमन्त्री बस्नेतले समन्वय गरेर घर निर्माण गर्न पहल गर्ने गर्ने भएका हुन् ।
विस्थापित र घरबारविहीनको वडा कार्यालयले तथ्याङ्क सङ्कलन गरेपछि उपयुक्त सुरक्षित जग्गा भएमा आफूले घर निर्माणका लागि सहयोग गर्ने नेता बस्नेतले बुधबार बताए । भोटेकोशी गाउँपालिकाका ८० घरपरिवार तातोपानी सुख्खा बन्दरगाहमा अस्थायी रुपमा बसिरहेका छन् ।
कांग्रेस वाग्मती संसदीय दलको सहयोग
कांग्रेस वाग्मती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेका बाढीपहिरो प्रभावितलाई रु पाँच लाख सहयोग गरेको छ । वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढी प्रभावित भोटेकोशी गाउँपालिकाका घरवारविहीन ८० परिवारलाई नगद राहत वितरण गरेको हो । कांग्रेसले प्रतिपरिवार पाँच हजारका दरले चार लाख प्रभावित क्षेत्रमा वितरण गरेको छ ।
त्यस्तै काठमाडौंको ह्याम्स अस्पताल पुगेर तीन मृतकका परिवारलाई १० हजारका दरले र सात घाइतेलाई १० हजारका दरले एक लाख वितरण गरिएको संसदीय दलका सचिव निमा लामाले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया