उपभोक्ताले मर्मत गर्न सकेनन् निवुखोला जलविद्युत

फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ४ ज्यामिरे टोलमा सञ्चालित लघु जलविद्युत् आयोजना जीर्ण अवस्थामा पुगेपछि करिव १५० घर परिवारका उपभोक्ता प्रभावित बनेका छन् ।

हामसामी निवुखोला लघु जलविद्युत् आयोजना उपभोक्ताले मात्रै मर्मत गर्न नसकेपछि जीर्ण अवस्थामा पुगेको हो । करिव १६ वर्षअघि निर्माण भएको आयोजना जीर्ण अवस्थामा पुगेपछि विद्युत् उत्पादन नियमित हुन नसक्दा उपभोक्ताहरु समस्यामा परेका छन् । उक्त आयोजना ‘आइबिपी’ नामक दातृ संस्थाको ५० प्रतिशत अनुदान सहयोगमा निर्माण भएको थियो । पछिल्लो पटक पहिरो तथा वर्षात्का कारण विद्युत् गृहसम्म पानी पुर्याउने पाइपलाइन क्षतिग्रस्त भई विद्युत् उत्पादनमा अवरोध आएको उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद नेम्वाङले बताउनुभयो । पाइपलाइन तथा विद्युत् गृहमा पहिरोले क्षति पुर्याउँदा उपभोक्ताले मात्रै मर्मत गर्न नसकेको उनको भनाइ छ ।

“संरचना जीर्ण हुँदा लघु जलविद्युत् नै बन्द हुने स्थिति आएको छ”, उनले भने । उक्त आयोजनाले काममा खटाएका तीन जना कर्मचारीलाई मासिक पारिश्रमिकसमेत उपलब्ध गराउन कठिन परेको जनाएको छ । “प्रत्येक घरधुरीले मासिक ११० रुपैयाँ महशुल सङ्कलन गरी कर्मचारीलाई तलब दिँदै आएका थियौँ”, उनले भने, “अब न मर्मतमा खर्चने पैसा छ, न उपभोक्ताबाट उठाउने अवस्था नै ।” नियमित विद्युत् उत्पादन नहुँदा उपभोक्ता समस्यामा परेका छन् ।

फाल्गुनन्द गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७÷०७८ मा आयोजना मर्मत गर्ने विषयलाई नीति तथा कार्यक्रममा राखेको जानकारी पाएको भन्दै उपभोक्ता समितिका सचिव भगीरथ नेम्वाङले सरकारी सहयोग प्राप्त नभए आयोजना बन्द हुने बताए। “गाउँपालिकासहित अन्य निकायसँग सहयोग मागिरहेका छौँ । सहयोग प्राप्त नभए वर्षौंदेखि उज्यालोमा बस्न पाएका हामी १५० परिवार अन्धकारमा पर्छौँ”, उनले भने ।

जलविद्युत् आयोजनाबाट उत्पादित १२ किलोवाट क्षमताको विद्युत्ले दिउँसोको समयमा यहाँ कुटानीपिसानी तथा तेल पेल्ने मिलसमेत सञ्चालन हुँदै आएको थियो । यस्तै विद्युत् उत्पादनका लागि ल्याइएको पानीको पाइपलाइनलाई सिँचाइको रुपमा समेत प्रयोग हुँदै आएको थियो । पाइपलाइनको मर्मतमा ठूलो खर्च लाग्ने र उक्त खर्च उपभोक्ता मात्रैले सङ्कलन गर्ने अवस्था नभएपछि कतिपय उपभोक्ता निराश बनेका छन् । यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार हुन अझै केही समय लाग्ने बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?