जिल्लासभाद्वारा हलेसीको गुरुयोजना कार्यान्वयनलाई प्राथमिकता

खोटाङ । जिल्ला समन्वय समिति खोटाङले त्रिधार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ । जिल्ला समन्वय समिति खोटाङको सोमबार सम्पन्न चौथो जिल्लासभामा जिसस प्रमुख बबि चाम्लिङले प्रश्तुत गरेको प्रस्तावलाई जिल्लासभाले पारित गरेको हो ।

जिल्लासभाले हलेसीको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्न आवश्यक समन्वय गर्ने गरी वार्षिक कार्यक्रमसमेत तय गरेको छ । सांसद विशाल भट्टराईको संयोजकत्वमा बनेको समितिले गुरुयोजना निर्माण गरिसकेकाले कार्यान्वयनका लागि जिल्लासभाद्वारा निर्णय पारित गरिएको प्रमुख चाम्लिङले बताए।

किराँत, हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीलाई व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाको पहलमा विसं २०७५ जेठदेखि गुरुयोजनासम्बन्धी प्रारम्भिक चरणका काम थालिएको थियो । दैनिक पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीलाई व्यवस्थित गर्न सकेमा आर्थिक आयआर्जनको केन्द्र बनाउन सकिने सम्भावनालाई मध्यनजर गर्दै गुरुयोजना कार्यान्वयनमा जोड दिइएको हो ।

जिसस प्रमुख चाम्लिङले धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्न सबैलाई आग्रह गरेका छन् । “हलेसी खोटाङको मात्र नभई नेपालकै लागि एउटा महत्वपूर्ण धार्मिक सम्पदा हो”, उनले भने, “यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेर विकास तथा प्रवर्द्धन गर्न सबैले हातेमालो गर्न आवश्यक छ ।”

यसैबीच जिल्लासभाले खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको कामलाई पूर्णता दिन सहयोग गर्ने भएको छ । जिल्लासभाले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको कामलाई सम्पन्न गर्नका लागि आवश्यक समन्वय गर्ने गरी वार्षिक कार्यक्रम ल्याएको हो ।

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले जिल्लाको समृद्धिमा समेत महत्वपूर्ण टेवा पुर्याउने भएकाले यसको सफलताका लागि सहयोग गरिने जनाइएको छ । लामीडाँडाको रँभुवाबजारमा १६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.५ किलोमिटर हेडरेस सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

जिल्लासभाले साविकको सदरमुकाम दिक्तेल बजारबाट स्थानीय तहको केन्द्रसम्म पुग्ने सडक कालोपत्र गर्न सम्बन्धित निकायसमक्ष समन्वय गर्ने, खोलानालामा मोटरेबल पुल बनाउन पहल गर्ने, प्रत्येक स्थानीय तहमा कलेज स्थापना गर्न र दिक्तेल बहुमुखी क्याम्पसको स्तरोन्नतिमा पहल गर्ने, हरेक स्वास्थ्यचौकीको स्तरोन्नति गर्ने, हरेक स्थानीय तहमा मेडिकल चिकित्सकसहितको अस्पताल स्थापनाका लागि पहल गर्ने, जिल्ला अस्पतालमै कोभिड–१९ को पिसीआर परीक्षण उपकरण जडान गर्ने र पिसीआरका लागि अन्यत्र स्वाब पठाउनुपर्ने बाध्यता अन्त्य गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै हलेसी, तुवाचुङ, जायजुम, बराहताल, सोनापाताल, जन्तेढुङ्गा, धिप्लुङ झरना, टेम्केडाँडा, मझुवागढी, भुलभुले दूधकुण्ड, रुपाकोट, चिलिमढुङ्गा, ढालतरवारडाँडा, केपिलासगढीलगायतका पर्यटकीयस्थलको पर्यटन प्रवर्द्धनका लागि पहल गर्ने, फेदी, पाथेका र निर्मलीडाँडाको माथिल्लो क्षेत्रमा पाइने दुर्लभ रेडपाण्डा संरक्षण गर्ने, जिल्ला समन्वय समितिको हाताभित्र खोटाङ स्तम्भ निर्माण गर्नेलगायतका प्रस्ताव पारित गरिएको छ ।

कार्यक्रममा जिसस प्रमुख चाम्लिङले वर्ष दिनभित्र सञ्चालन गरेका काम तथा आयव्यायका बारेमा जानकारी दिएका थिए । चाम्लिङले आर्थिक वर्ष २०७७÷७८ का लागि सङ्घीय सरकारबाट प्राप्त भएको एक करोड ३८ लाख २० हजार रुपैयाँ रकम विनियोजन गरिएको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राईले सङ्घ, प्रदेश र स्थानीय सरकारले पर्यावरण संरक्षणलाई ध्यान नदिई सडक खन्ने काममा मात्र बजेट खन्याएको उल्लेख गर्नुभयो । कार्यक्रममा दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतको उपस्थितिमा खोटाङको चौथो जिल्लासभा सम्पन्न भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?