काठमाडौं । कोरोना महामारीको कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार भइरहे पनि सोमवार र मंगलवार (भोली र पर्सी) रोकिने भएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि एकमात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई दिन सरसफाईदेखि होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका काम गर्नका लागि दुई दिन उद्धार उडानहरु स्थगित गरिएको विमानस्थल स्रोतले जनाएको छ ।
कोरोना महामारीपछि उत्पन्न समस्याका कारण विदेशमा अलपत्र धेरै नेपालीहरुले नेपाल आउन चाहेका कारण गत जेठ २३ गतेबाट उद्धार उडान शुरु गरिएको थियो ।
त्यसैअनुसार शनिवार (हिजो) सम्मको तथ्यांक हेर्ने हो भने हालसम्म २६ हजार ३ सय ९६ जना नेपालीको उद्दार गरिएको छ ।
नेपाल सरकार, कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरेको छ ।
विभिन्न एयरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्दार गरिएको हो । गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट ५ हजार ५ सय २७ सय जनाको उद्धार भएको छ । कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी धेरै ५ हजार २ सय ४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३, कतारबाट २ हजार ८ सय ८४ जनाको उद्धार गरिएको हो ।
यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्काइएको हो । शनिवार मात्रै विभिन्न मुलुकबाट १ हजार ३ सय ८१ जना स्वदेश फर्किएका छन् ।
१ सय ५७ शव ल्याइयो
यसै अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ६ जनामध्ये १ सय ४६ जनाको परिवारको सहमतिमा देशमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी छ ।
साथै जुलाइ १५ अर्थात बुधबारदेखि जुलाई २१ सम्म एक हप्ता नेपालीको स्वदेश फिर्तीका लागि उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार त्यसपछि अहिलेकै प्रक्रिया अनुसार उडान गर्ने या नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया