क्यान्सर पीडितको उपचारका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग

गोरखा । गोरखामा फेसबुक अभियानमार्फत आर्थिक सहयोग सङ्कलन गरी एक क्यान्सर पीडित महिलालाई उपचारका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । गोरखा नगरपालिका–५ नयाँबजारमा कोठा गरी बस्दै आएकी क्यान्सर पीडित उसलबानी खातुनलाई दारी ग्याङ गोरखाले फेसुबक अभियानबाट रकम जुटाएर आज हस्तारन्तण गरेको अध्यक्ष राजेन्द्र न्यौपानेले जानकारी दिए ।

“पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसक्नु भएकी खातुनलाई उपचारमा सहयोग गर्न हामीले दारी ग्याङ गोरखामार्फत आर्थिक सङ्कलन अभियान सञ्चालन गर्दै आएका थियौँ”, अध्यक्ष राजेन्द्र न्यौपानेले भने, फेसबुकबाट सञ्चालन गरिएको अभियानबाट जम्मा भएको एक लाख ८५९ रुपैयाँ आज उहाँलाई हस्तारन्तरण गरिएको छ ।”

अभियानमा स्वदेश तथा विदेशमा रहेको नेपालीबाट सहयोग जुटेको उनले जानकारी दिए । “पैसा नभएर नै उहाँ उपचार गर्न अस्पतालसम्म जान नसक्नु भएको रहेछन्, अस्पताल जानका लागि खर्च अभावमा छटपटी रहनुभएको भन्ने सुन्यौँ”, अध्यक्ष न्यौपानेले भने, “उनलाई मृत्युबाट जोगाउन जसरी पनि केही गर्नुपर्छ भन्ने लागेर हामीले अभियान थालेका हौँ ।”

बारा जिल्ला घर भएका खातुन विगत केही वर्षदेखि गोरखा सदरमुकामको नयाँबजार क्षेत्रमा सामान्य व्यापार गरेर जीविकोपार्जन गर्दै आएका थिइन् । पित्तथैलीमा क्यान्सर भएकी पीडित खातनु परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । अभियान क्रममा जापानमा बस्ने गोरखालीहरुबाट मात्र ५० हजार ६५० रुपैयाँ सङ्कलन भएको अध्यक्ष न्यौपाने जानकारी दिए।

त्यस्तै कतार तथा दुबईमा रहेका नेपालीहरुले अभियानमा सहयोग गरेको उहाँको भनाइ छ । खातुनको उपचारका लागि जिल्लाभित्रका स्थानीयवासी र विभिन्न सङ्घसंस्थालगायतबाट अहिलेसम्म तीन लाख १३ हजार ६८० रुपैयाँ सङ्कलन भइसकेको स्थानीय अभियन्ता कल्पना श्रेष्ठले जानकारी दिइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?