अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पुरानो साथी स्टोनको कैद अवधिमा कटौती

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पुराना साथी रोजर स्टोनलाई तोकिएको कारागार सजाय अवधिमा कटौती गरिदिएका छन् ।

ट्रम्पका पूर्व सल्लाहकार समेत रहनु भएका स्टोनलाई सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाइएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएर सजाय घोषणा गरिएको थियो ।

एक पुनरावेदन अदालतले स्टोनको ४० महिने हिरासत शुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पले शनिवार समयावधि कटौतीको घोषणा गरेका हुन् ।

उनलाई आगामी मङ्गलवार जर्जियाको एउटा सङ्घीय जेलमा उपस्थित हुन आदेश दिइएको थियो ।

उनलाई अमेरिकी कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोग पनि लगाइएको छ ।

तर राष्ट्रपति ट्रम्पले भने ६७ वर्षीय स्टोन पहिले नै धेरै पीडित भइसकेकाले जेल सजाय अवधि घटाउनु परेको बताएका छन् ।

“रोजर स्टोन रुसी छलकपटको सिकार भएका पीडित हुन् । ट्रम्पको राष्ट्रपतीय कार्यकाललाई कमजोर पार्न वर्षौँदेखि वामपन्थी र त्यसका सहयोगी सञ्चारमाध्यमहरूले निरन्तरको मुद्दा बनाएका छन्,”ट्रम्पले भनेका छन् ।

राष्ट्रपति निर्वाचनमा रुसको संलग्नताबारे छानबिन गर्ने मुख्य छानबिनकर्ता रोबर्ट मुलर मातहतका अभियोजनकर्ताहरूले ट्रम्पको चुनावी अभियानमा रुसको संलग्नता पुष्टि गर्न नसकेपछि स्टोनमाथि प्रतिशोषपूर्ण व्यवहार गरेको ट्रम्पको आरोप छ ।

तर विपक्षी डेमोक्र्यटिक पार्टीका नेताहरूले भने ट्रम्पको यस निर्णयको आलोचना गदैै शक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् ।

सन् १९७० देखि रिपब्बलिकनहरूसँग काम गर्दै आएका स्टोनले सन् १९९० को दशकमा ट्रम्पको क्यासिनो व्यवसायका लागि लबीकर्ताको रूपमा काम गरेका थिए ।

त्यही पुरानो सम्वन्ध र चुनावका बेला सघाएकाले उनलाई राष्ट्रपति ट्रम्पले सल्लाहकारमा मनोनित गर्नुभएको थियो । तर अभियोग लागेपछि उनी सल्लाहकारबाट हटेका थिए।

स्टोन सजाय पाउने ट्रम्पका तत्कालिन सल्लाहकारमध्ये छैटौँ सल्लाहकार छन् । यसअघि ट्रम्पका अरु पाँच सल्लाहकारहरुले पनि सजाय पाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?