भारतीय न्यूज च्यानल बन्द गर्ने निर्णयमा सरकार खुसी (विज्ञप्तिसहित)

काठमाडौं । भारतीय सञ्चारमाध्यमहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रसारण रोकेको भन्दै सरकारले खुसी व्यक्त गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो निर्णप्रति खुसी व्यक्त गर्दै डिजिटल केवल सेवाप्रदायकहरुलाई धन्यवाद व्यक्त गरेको छ ।

केही भारतीय संचार माध्यमहरुबाट नेपाल र प्रधानमन्त्री केपी ओलीको नाम जोडेर प्रकाशित प्रसारित कपोलकल्पित, दुरासयपूर्ण एवं भ्रामक समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि मन्त्रालयले जनाएको छ।
‘पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य,मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्तयस्ता सामग्रीहरुले दुई देश बीचको मित्रवत सम्बन्धमा प्रतिकुलप्रभाव पार्न सक्ने हुँदा सम्बन्धित सबै पक्ष संवेदनशील हुन जरुरी छ’, मन्त्रालयले भनेको छ, ‘आमसञ्चार माध्यमहरुले समाचार प्रकाशन, प्रसारण गर्दा सत्य,तथ्य र बस्तुपरक भई पेशागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिवद्ध हुनुपर्छ भन्ने मन्त्रालयको मान्यता रहेको छ।’
कुनै पनि सञ्चार माध्यमले देशको राष्ट्रियता एवं स्वाभिमानमा आँच पुर्याउने सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्नुहुँदैन भन्ने व्यवस्था प्रचलित कानून तथा आचारसंहितामा स्पष्ट नै रहेको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आगामी दिनमा समेत सरोकारवालाहरुबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्ने तथा गराउने सन्दर्भमा निरन्तर सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?