सिन्धुपाल्चोक बाढि पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन आग्रह

हेटौँडा । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले सिन्धुपाल्चोकमा भएको बाढीपहिरोको घटनाका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । शुक्रवार वक्तव्य जारी गर्दै प्रदेश प्रमुख प्रसाईँले प्रदेश सरकारलाई खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन आग्रहसमेत गरेका छन् ।

प्रदेश प्रमुख प्रसाईँले जोखिम कायम नै रहिरहेका अवस्थामा नागरिकलाई सावधान रहन तथा सरकारलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

यसैबीच वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक घटनामा ज्यान गुमाउनेहरुको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकमार्फत राहत घोषणा गरिने जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल तथा सामाजिक विकासमन्त्री युवराज दुलाल हेलिकप्टर लिएर सिन्धुपाल्चोक पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?