अविरल वर्षाका कारण भीमफेदी-कुलेखानी सडक अवरुद्ध

हेटौँडा । बिहीवार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी-कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी-कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट ठाउँठाउँमा गएको पहिरो पन्छाउन कठिनाइ उत्पन्न भएको र मौसम सुधार हुने बित्तिकै पहिरो पन्छाई भीमफेदी–कुलेखानी सडक यातायात सञ्चालन गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

हेटौँडाबाट काठमाडौंतर्फ त्रिभुवन राजपथबाटै सञ्चालन गरिएको र त्रिभुवन राजपथको भैँसेबाट सबै यातायातलाई त्रिभुवन राजपथतर्फ पठाइएको भैँसे प्रहरीचौकीका इञ्चार्ज कुलबहादुर श्रेष्ठले जानकारी दिए ।

मकवानपुरको विभिन्न ठाउँमा आज बिहानसम्ममा बाढी पहिरोले कुनै क्षति नपुर्याएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?