घरभित्र पहिरो पस्दा तीनको मृत्यु, तीन घाइते

लमजुङ । लमजुङ बेँसीशहर नगरपालिका–७ का एक स्थानीयको घरमाथिबाट खसेको पहिरोका कारण तीन जनाको मृत्यु भएको छ । स्थानीय ३३ वर्षीय दीपक तामाङको घरभित्र गए राति पौने १२ बजेतिर अविरल वर्षासँगै पहिरो पस्दा ३३ वर्षीय दीपकसहित नौ वर्षीय छेवाङ तामाङ र २६ वर्षीया विमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तामाङको घरदेखि करिब २५र३० मिटर माथिबाट आएको पहिरो घरभित्र छिर्दा उनको परिवारका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकास पुनले बताए। घरभित्र पुरिएको अवस्थामा शव सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर उद्धार गरेका थिए । २६ वर्षीया विमायाको राति १ बजे र दुई जनाको राति साढे २ बजे शव निकालिएको प्रहरीको भनाइ छ । उद्धारपश्चात् उनीहरुको शव परीक्षणका लागि बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । त्यस्तै, मृतक ३३ वर्षीय तामाङको घरमा काम गर्न बसेका तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही वडा सातविसे घर भएका २६ वर्षीय सन्तबहादुर गुरुङ, बेँसीशहर नगरपालिका १० घर भएका २० वर्षीय सुमन गुरुङ र २३ वर्षीय अनिल गुरुङ रहेको प्रहरीको भनाइ छ । घाइते तीन जनालाई नै जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक पुनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?