रअ र आईबीका प्रमुखहरु नेपालमा ?

काठमाडौं । नेपालमा नेकपाभित्र विवाद र भारतविरोधी गतिविधि बढेसँगै भारतीय गुप्तचर संस्था रअ र आईबी (इन्टेलिजेन्स ब्युरो) का प्रमुखहरु नेपाल आएको दावी गरिएको छ ।

उनीहरुले नेपालमा शीर्ष नेतृत्वसँग छलफल र भेटघाटमा व्यस्त रहेको समाचार भारतीय सञ्चारमाध्यम पायोनियरले प्रकाशित गरेको छ ।

पायोनियरका अनुसार सुरक्षा संयन्त्र तथा गुप्तचर संस्थाका वरिष्ठ अधिकारीहरु सत्तारुढ नेकपाको स्थायी समिति बैठकअघि भारतको पक्षमा माहोल बनाउन सक्रिय छन् । रअका प्रमुख सामन्थ कुमार गोयल र आइबीका प्रमुख अरबिन्द कुमार यहाँ राजनीतिज्ञसँग निरन्तर छलफलमा रहेको समाचारमा दाबी गरिएको छ ।

गुप्तचर संस्थाका यी अधिकारीहरुसँगको नेपाली राजनीतिज्ञको छलफललाई भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले प्रत्यक्ष निगरानी गरिरहेको पनि समाचारमा जनाइएको छ ।

अहिलेसम्म नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, केशव प्रसाद वडाललगायतका नेताहरुसँग गुप्तचर अधिकारीहरुले भेटेको समाचारमा जनाइएको छ ।

अधिकारीहरुले वर्षामान पुन, ओली निकट मानिने शंकर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकार डाक्टर राजन भट्टराईलगायतसँग पनि भेटेका छन् । त्यस्तै, उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका नेता विमलेन्द्र निधि, कृष्ण सिटौला, मिनेन्द्र रिजलाल तथा समाजवादी पार्टीका महन्थ ठाकुर, उपेन्द्र यादव , बाबुराम भट्टराईलगायत नेतासँग पनि सम्पर्क गरेको समाचारमा जनाइएको छ ।

तर नेपालस्थित सुरक्षा स्रोतले भने समाचारको कुनै सत्यता नरहेको भन्दै खण्डन गरेको छ । सुरक्षा स्रोतले भन्यो–हल्लाहरु आइरहेका छन्, यसबारे हामीलाई कुनै जानकारी छैन र समाचारको सत्यता पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?