भूकम्पपछि ५ लाख घरको पुनर्निर्माण सम्पन्न

काठमाडौं । भूकम्पबाट क्षति भएकामध्ये पाँच लाखभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न भएको छ ।

पाँच लाख सात हजार ६२३ घरको पुनर्निर्माण सम्पन्न भएको र दुई लाख दुई हजार ६४३ घर पुनर्निर्माणको क्रममा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

घर पुनर्निर्माणका लागि सात लाख ८६ हजार १४४ घरधनीले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण सम्पन्न भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जनाकारी दिए ।

प्राधिकरणका अनुसार भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सम्पन्न भएका छन् । नुवाकोटमा ६४ हजार १२४ र गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् । “प्राधिकरणले ६ लाखभन्दा बढी गुनासाहरु सम्बोधन गरेका छन्”, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, “प्राधिकरणको निर्णयमा चित्त नबुझे पुनरावेदन समितिमा उजुरी दिन सकिने छ ।” भूमिहीन र सुकुम्वासी लाभग्राहीका बारेमा सबै टुङ्गो लागिसकेको र जोखिमयुक्त बस्ती स्थानान्तरणका लाभग्राहीलाई सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन भएको छ, उनले भने ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती पुनर्निर्माणका लागि ८६ वटा प्रस्ताव प्राप्त भएकोमा भूकम्प प्रभावित क्षेत्रका विभिन्न ठाउँमा आकर्षक एकीकृत बस्तीहरु बन्दै गरेको बताए ।

प्राधिकरणको म्याद आगामी पुसमा सकिँदैछ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा एक वर्ष थप्नसक्ने प्रावधान छ । प्राधिकरणले ४०२ गुम्बाको मर्मत सम्भारको काम भएको र ११७ गुम्बा पुनर्निर्माणका कार्य आगामी आर्थिक वर्षका लागि स्वीकृत भएको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?