सिन्धुपाल्चोक पहिरो: मध्य भोटेकोशीमा कार्यरत चिनियाँ प्राविधिक वेपत्ता

सिन्धुपाल्चोक । गएराति सिन्धुपाल्चोकमा आएको बाढीमा परि निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा कार्यरत एक चिनियाँ प्राविधिक वेपत्ता भएका छन् । त्यस्तै बढीका कारण आयोजनाका लागि ल्याइएको सामाग्रीहरु बगाउँदा अर्बाै मात्रामा क्षति भएको छ ।

स्रोतका अनुसार आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको बुझिएको छ ।

गए राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिए। घटनामा १८ जना बेपत्ता तथा पाँच जना गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरी सूचना अधिकारी काफ्लेका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन् । जम्बुका तीन गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट राजधानी लाने प्रयास भइरहेको छ ।

त्यसै गरी भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको र चार जना बेपत्ता भएका छन भने दुई जना घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । बाढीले त्यहाँस्थित सानो पुलेसा (कल्भर्ट) समेत बगाएको छ ।

बाढीले धनजनको ठूलो क्षति भएपछि सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टरमार्फत आज बिहान घटनास्थल जान लागेका थिए । तर प्रतिकूल मौसमका कारण धुलिखेलबाट नै फर्किएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?