नागढुंगा सुरुङमार्ग निर्माण गर्न विस्फोटक पदार्थ ल्याउन बाटो खुल्यो, काम अघि बढाइने

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ आयात गर्न कम्पनीले स्वीकृति पाएको छ । रक्षा मन्त्रालयले नेपाली सेनाको सल्लाहमा विस्फोटक पदार्थ ल्याउन दिने निर्णय गरेको हो ।

नेपाली सेनाको राय र सुझावका आधारमा विस्फोटक पदार्थ ल्याउन दिने निर्णय भएको हो रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले बताए ।

सडक विभागका उपमहानिर्देशक अर्जुन थापाका अनुसार विस्फोटक पदार्थ ल्याउन स्वीकृति पाइसकेको र उक्त विस्फोटक पदार्थ आउन तीनमहिना समय लाग्ने उनले बताए । “निर्माणका लागि मेसिनरी सामान आयोजनाको साइडमा छन् । विस्फोटक पदार्थ ल्याएपछि निर्माण कार्य सुरु हुन्छ,” उनले भने ।

निर्माण कम्पनीले भारतबाट विस्फोटक पदार्थ ल्याउन प्रक्रिया सुरु गरिसकेको पनि उनले बताए । विस्फोटक पदार्थ प्रयोग हुने कामबाहेक अन्य कामका लागि कामदार ल्याएर काम सुरु गर्न थालेको पनि उनले बताए । “सुरुङ निर्माणका लागि सामान्य तयारीका काम भइरहेका छन्,” उनले भने ।

मुआब्जा विवाद टुङ्गियो

उपमहानिर्देशक थापाले मुआब्जा वितरण सम्बन्धी धादिङको केही क्षेत्रमा रहेको विवाद समाधान भएको बताए । धादिङतर्फको गुठीको जग्गामा विवाद थियो । गुठी ऐनअनुसार एक तिहाइ मोहीलाई र दुईतिहाइ गुठीलाई दिने भन्ने थियो । “मन्त्रिपरिषद्ले तोकिएको दरबाट ५०–५० प्रतिशत मोही र गुठीलाई मुआब्जा दिने निर्णय गरेको छ । अब सोहीअनुसार मुआब्जाको रकम पनि बाँड्दैछौ,” उनले भने ।

काठमाडौंतर्फको पहुँच मार्गको मुआब्जा वितरण सकिएको उनले बताए । तर बलम्बुमा बनाइनुपर्ने फ्लाइ ओभरका लागि थप केही जग्गा अधिग्रहण गर्नुपर्ने काम भने बाँकी रहेको उनले जानकारी दिए । त्यसका लागि मुआब्जाको प्रक्रिया अब सुरु हुने उनले बताए । तर, त्यसले सुरुङ मार्गको काम भने रोकिने छैन । मुआब्जा दिँदै सुरुङ मार्ग निर्माणको काम पनि अघि बढ्ने उनको भनाइ छ ।

फ्लाइओभर पनि बन्ने

सुरुङ मार्गको कूल लम्बाई २.७ किलोमिटर छ । आयोजना अन्तर्गत एउटा फ्लाइओभर बलम्बुमा, सुरुङको मुखमा एउटा अन्डर पास र अर्को अन्डरपास धादिङतर्फको सिस्नेखोलामा बन्नेछ । यो सुरुङमार्गको गत कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सरकारले सुरुङमार्ग निर्माणका लागि प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि ६ अर्ब ४२ करोड विनियोजन पनि गरिसकेको छ ।

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सुरुङ मार्ग देशकै पहिलो सडक सुरुङमार्ग हो । जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा यो सुरुङ मार्ग निर्माण गर्न लागिएको हो । सुरुङ मार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमध्ये जाइकाको १६ अर्ब रुपैयाँ सहयोग र ६ अर्ब सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ ।

चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका लागि जाइकासँग २०७३ पुसमा ऋण सम्झौता गरिएको थियो । सुरुङमार्ग जापानी हाज्मा आङदो कर्पोरेशनले निर्माण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?