मौरी चरनका लागि चिउरी रोप्दै नगरपालिका

चितवन । चरन अभाव भएको भन्दै मौरीपालक कृषकले गुनासो गरिरहेका बेला यहाँको कालिका नगरपालिकाले यस वर्ष झण्डै १० हजार चिउरीका बिरुवा रोप्ने तयारी गरेको छ । हालसम्म तीन हजार ३०० बिरुवा रोपिसकेको छ ।

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार सिंहनाथ गण गैरीबारीमा तीन हजार र विपद् व्यवस्थापन गण रसौलीमा ३०० बिरुवा रोपिसकिएको छ । सिद्धि र शक्तिखोरको कबुलियती वन र खोरियामा पाँच हजारभन्दा बढी बिरुवा रोप्ने तयारी गरिएको छ । मौरीपालक व्यवसायी सङ्घ र सपना भिलेज इम्प्याक्टसँग सहकार्य गरेर नगरपालिकाले बिरुवा रोप्न थालेको हो ।

प्रमुख श्रेष्ठले चिउरीमा बहुआयामिक गुण भएकाले तीव्ररूपमा वृक्षरोपण गर्न लागिएको बताए। चिउरीको फल खाने र बियाँबाट घ्यूसमेत निकाल्ने गरिन्छ । महमध्येमा चिउरीको चरनको मह सबैभन्दा उत्कृष्ट मानिन्छ । उनले भने, “यहाँका मौरीपालक कृषकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले चिउरीको वृक्षरोपण थालिएको हो ।”

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलले रोपिएकामध्ये सात हजार ५०० बिरुवा मात्र हुर्किएमा एक हजार ५०० गोलाका मौरीलाई चराउन पुग्ने बताए । चरनको अभावमा यहाँका कृषकले देशका १४ जिल्लामा मौरी लाने गर्दछन् । कालिका नगरपालिकामा मात्र छ हजार गोला मौरी रहेको छ । पौडेलका अनुसार यो सङ्ख्या जिल्लामा २५ हजार र देशभरमा ७० हजार रहेको छ ।

यहाँका मौरी चिउरीमा चराउनका लागि दाङ, अर्घाखाँची र प्यूठान लगिन्छ भने अन्य जिल्लामा पनि चराउन लैजाने गरिएको छ । चिउरीका बिरुवा हुर्कन आठ÷दश वर्ष लाग्ने गर्दछ । जिल्लाका पहाडी क्षेत्रमा चिउरीका रुख रहेका छन् । ती क्षेत्र चिउरीका लागि उपयुक्त मानिन्छ । नेपालमा मौरीपालन व्यवसायमा लाग्नेहरुको सङ्ख्या सात हजार रहेको छ । गतसाल मेलिफेराको दुई हजार ५०० मेट्रिकटन र सेरानाको एक हजार मेट्रिक टन मह उत्पादन भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?