काठमाडौं । केही सामाजिक संजालमा सैन्य आधार तालिम समाप्त गरेका दुई सैनिकहरु (महिला तथा पुरुष) को तस्विर पोष्ट गरी त्यसबारे भ्रामक तथा नकारात्मक टिकाटिप्णी भएको भन्दै नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार एक विज्ञप्ति जारी गर्दै ती महिला र पुरुष गत पुस १ गतेदेखि असार १९ गतेसम्म भक्तपुरको सूर्यविनायक स्थित वीरदल गणमा सञ्चालन भएको सैन्य आधार तालिम पुरा गरेकाहरु भएको स्पष्ट पारेको छ ।
उनीहरुको उचाईको सम्बन्धमा सिपाही महिलाको उचाई ५ फिट १ ईन्च र सिपाही पुरुष उचाई ५ फिट १० ईन्च रहेको विज्ञप्तिमा उल्लेख छ । हाल तालिम समाप्ति पश्चात् उनीहरु सेवामा नियुक्ति भइसकेको पनि सेनाले जनाएको छ ।
नेपाली सेनाको भर्ना छनौट कार्यविधि र तोकिएको मापदण्ड बमोजिम उनीहरु भर्ना भएको भन्दै सेनाले विज्ञप्तिमा भनेको छ, ‘नेपाली सेनाको भर्ना छनौट निर्देशिका २०७१ मा तोकिएको मापदण्ड बमोजिमका शर्तहरु पुरा गरी नेपाली सेनामा छनौट भएका सैन्यहरुको वास्तविकतालाई तोडमोड गरि अतिरञ्जित तरिकाले गरिएको प्रचार प्रसारको भ्रममा नपर्न हुन नेपाली सेना सम्पूर्ण सामाजिक संजाल प्रयोगकर्ताहरु समक्ष हार्दिक अनुरोध गर्दछ ।’
साथै आगामी दिनहरुमा समेत विभिन्न सामाजिक संजाल तथा अन्य संचारका माध्यमहरु मार्फत नेपाली सेनासम्बन्धी यस प्रकारका अफवाहहरु फैलाउन प्रयास हुन सक्ने भएकोले सम्पूर्ण प्रयोगकर्ताहरुलाई सचेत र सजक रहन अनुरोध गरेको छ ।
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/PR-135-1.pdf”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया