काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मा जागिर लगाइदिने भन्दै लाखौँ ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
आफू विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कर्मचारी भएको र (डब्लुएचओ)मा कर्मचारीको माग भएको भन्दै विभिन्न व्यक्तिलाई ठग्ने नवलपरासी पूर्वी सुस्ता देवचुली नगरपालिका १५, प्रगतिनगर घर भई काठमाडौंको तीनकुने बस्दै आएका ३४ वर्षीय विजय पाण्डे प्रहरीको फन्दामा परेका हुन् ।
महानगरीय अपराध महाशाखाको टोलीले एक लाख ८२ हजार रुपैयाँ ठग्ने पाण्डेलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
उनले चितवनकी अस्मिता अधिकारीलाई विश्वासमा पार्न अफर लेटर, रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कागजातहरूसमेत दिएर ठगी गरेका थिए ।
त्यस्तै शंखमूलमा रहेको एक फर्निचर पसलबाट १८ लाखको फर्निचर लैजाने भन्दै उल्टै ५० हजार लिएर ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
महाशाखाका अनुसार अछामकी रञ्जु बुढालाई एक वर्षसम्म नक्कली कार्यालयमा काम लगाई तलब नदिई ठगी गरेको पनि प्रहरीले जनाएको छ ।
चितवनका निशानबाबु घिमिरेलाई समेत विश्व स्वास्थ्य संगठनको कार्यालय ललितपुरमा जागिर लगाई दिने विश्वास दिलाएर तीन लाख ५० हजार रुपैयाँ ठगेको महाशाखाको अनुसन्धानबाट पत्ता लागेको छ ।
यस्तै नवलपरासी बस्ने दीपक खनाल, धनबहादुर क्षेत्री, मनाङ घर भएका काशी गुरुङ, ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरे समेतका व्यक्तिहरूलाई समेत विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया