पार्टीभित्र सहमती जुटाउन आज पनि ओली-प्रचण्ड भेट्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै अध्यक्षबीच बुधवार पनि भेटघाट तथा छलफल हुने भएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानको लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर जस्तो वार्ता भइरहेको छ ।

मंगलवार पनि करिब २ घण्टा छलफल गरेका ओली प्रचण्डले बुधवार अपरान्ह ४ बजेका लागि बैठक तय गरेको स्रोत जनाएको छ ।

दुई अध्यक्षको भेटघाटको लागि सारिँदै आएको पार्टी स्थायी कमिटि बैठक बुधवार पनि स्थगित भएको छ । आज ११ बजेको लागि बैठक तय गरिएपनि बिहान बैठक स्थगित गरिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । स्थायी कमिटीको बैठक २६ गतेका लागि बोलाइएको छ।

दुबै नेताहरुले आफ्नो मागमा हठ नछाडेका कारण केहीदिन यता बसिरहेको बैठकले यथेष्ठ निष्कर्श निकाल्न सकेको छैन् ।

पार्टी अध्यक्ष प्रचण्ड ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद छाड्नुपर्ने अडानमा रहेका छन् । भने उनलाई माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले साथ दिइरहेका छन् ।

लामो समय पछि गत असार १० गतेबाट बसिरहेको स्थायी कमिटि बैठकमा अध्यक्ष प्रचण्डले ओलीले दुबै पद छाड्नुपर्ने माग राखेका थिए ।

चरम विवादकाबीच पार्टी नै फुट्ने अवस्थामा पुगेपनि पछिल्ला वार्ताहरु सकारात्मक भएकाले सहमतीको दिशामा गइरहेको नेकपाको नेताहरुको बुझाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?