‘गर्भवती र सुत्केरीको स्वाब संकलन गरिएको भाँडो रातो रिबनले बाँधेर पठाउनू’

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती र सुत्केरी महिलाको कोरोना परिक्षणको लागि दिईएको स्वाब राखिएको भाँडोमा रातो रङको फित्ता, डोरी, रिबन वा धागोले बाँधेर प्रयोगशालामा पठाउन र प्रयोगशालाले पहिलो प्राथमिकतामा राखेर परिक्षण गरी रिपोर्ट दिन निर्देशन दिएको छ ।

कोरोना भाईरस ‘कोभिड – १९’ छ कि छैन भनेर जाँच गरिने विभिन्न अस्पताल र प्रयोगशालाले गर्भवस्था र सुत्केरी अवस्थाका महिलाको स्वाब परिक्षण प्राथमिकतामा राखुन् र उनीहरुको रिपोर्ट आउन बिलम्ब नहोस् भनेर परीक्षण केन्द्रहरुलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

हाल देशका विभिन्न स्थानमा रहेका २५ वटा प्रयोगशालामा जाँच हुँदै आएको छ ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको निर्णय सुनाउँदै भने, ‘सबै प्रयोगशालाहरु र सबै अस्पताललाई हामी भन्न चाहन्छौँ देशमा कोरोना भाईरस ‘कोभिड- १९’ का संक्रमित बढ्दै गईरहेको छ यसबाट सुत्केरी र गर्भवति महिला समेत प्रभावित भईरहेको सन्दर्भमा त्यहाँ प्रयोगशालामा कुनैपनि गर्भवति वा सुत्केरी महिलाको ‘कोभिड- १९’ को परिक्षणको लागि स्वाब संकलन गर्नुपर्ने भएमा निजलाई प्राथमिकतामा राखि स्वाब संकलन गरिदिनुहुन र संकलन गरिएको स्वाब राखिएको भाँडोलाई रातो फित्ता, डोरी वा रिबनले बाँधेर सम्बन्धित प्रयोगशालामा पठाईदिनुहुन अनुरोध छ । सम्बन्धित प्रयोगशालाले पनि रातो फित्ता लगाएको स्वाब प्राप्त भएमा पहिलो प्राथमिकतामा राखि परीक्षण गरेर नतिजा निस्कने बित्तिकै स्वाब संकलन भएका निकायमा अबिलम्ब पठाईदिनुहुन आदेश अनुसारको अनुरोध छ । प्रवक्रा डाक्टर गौतमले थपे, सबै अस्पताल र प्रयोगशालामा यस व्यहोराको चिठ्ठी आउँछ । आएन वा ढीलो भएमा भने यसै सूचनालाई आधार मानि आजदेखि नै यो कुरा कार्यान्वयन गर्न अनुरोध छ ।

बितेको २४ घण्टामा थप २०४ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६८८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ । नेपालमा हिजो (सोमवार) १८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?