सरकारी अस्पतालको सेवा उत्कृष्ट : प्रदेश प्रमुख प्रसाईं

काठमाडौं । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारी अस्पतालप्रति जनमानसको भ्रम चिरेर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । भरतपुर अस्पतालमा आज स्वास्थ्य परीक्षण गराएपछि उनले यहाँको सेवाको बारेमा आम जनतालाई बुझाउन आग्रह गरे ।

सरकारी अस्पतालको सेवा सुविधा राम्रो हुँदै गएको जनाउँदै उनले यस अस्पतालको सेवा उत्कृष्ठ रहेको आफूले जानकारी पाएको बताए ।

उनले कोभिड–१९ को उपचारमा सरकारी अस्पतालले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै थप प्रभावकारी सेवा दिन आग्रह गरे । सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी, अस्पताल विकास समितिका सदस्य केशव देवकोटा, अस्पतालका वरिष्ठ हाडजोर्नी एवं नसा रोग विशेषज्ञ प्रा डा कृष्ण पौडेल र सूचना अधिकारी लिलाधर पौडेलले अस्पतालका सेवा सुविधाका बारेमा जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई पनि सो अवसरमा उपस्थित थिए ।

प्रदेश प्रमुख प्रसाईंको प्रा डा पौडेलले स्वास्थ्य परीक्षण गरेका थिए । ढाड सड्किएको र कुममा समस्या भएको प्रा डा पौडेलले जानकारी दिए । प्रमुख प्रसाईँका स्वकीय सचिव प्रताप उप्रेतीका अनुसार उनले सधैँ आफ्नो उपचार सरकारी अस्पतालमा गर्दै आएका छन् ।

दुई दिन अघि मकवानपुर गढीबाट झर्ने क्रममा ढाड सड्किएपछि उपचारका लागि प्रमुख प्रसाईँ भरतपुर अस्पताल आएका हुन् । उनले आज यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको पनि निरीक्षण गरेका छन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?