नारायणपुर । दाङ जिल्लामा लोपोन्मुख स्थानीय बालीको मूल बीउ संरक्षण गर्न थालिएको छ । जिल्लामा सहकारीका माधयमबाट स्थानीय बालीको बीउको संरक्षण गर्न लागिएको हो ।
परम्परागतरुपमा खेती गरिँदै आएका बालीप्रति पछिल्लो समयमा कृषकको आकर्षण बढेको कृषिका अगुवा बताउँछन् ।
घोराही उपमहानगरपालिका– २ मा रहेको जैविक विविधता कृषि सहकारी संस्थाले लिवर्ड संस्थाको सहयोगमा विसं २०६४ देखि स्थानीय जातको बीउ सङ्कलन र संरक्षण गर्दै आएको छ । जिल्लाका धेरै स्थानको अध्ययनपछि उपयुक्त स्थानका रुपमा रामपुरलाई छनोट गरिएको जैविक विविधता कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राममणि पाण्डेलले जानकारी दिए। लिबर्डले करीब ६ वर्ष यही कार्यक्रमका लागि सहयोग गरेको स्थानीयवासीले बताएका छन् । लोपोन्मुख स्थानीय बाली संरक्षण र यसका बारेमा जानकारी पाएपछि स्थानीयवासीको यसतर्फ आकर्षण बढेको संस्थापक अध्यक्ष पाण्डेले बताए।
“संस्थाले स्थानीय जातको महत्वबारे जानकारी दिएपछि अहिले स्थानीयवासीको लोपोन्मुख जातका बालीप्रति आकर्षण बढेको हो, यसअघि स्थानीय जातलाई विश्वास नगर्नेहरुले पनि विश्वास गरेर खेती गर्न थालेका छन्”, संस्थापक अध्यक्ष पाण्डेले भने ।
अहिले स्थानीयस्तरमा पाइने बाली सङ्कलन गर्ने तथा संरक्षण गर्ने काम भइरहेको पाण्डेले जानकारी दिए । यसै गरेर स्थानीय बाली उत्पादन गरेर बजारसम्म पुर्याइने गरेको पाण्डेको भनाई छ ।
संस्थाले दाङ जिल्ला तिल्की धानका लागि प्रख्यात रहेकाले यसको संरक्षणसँगै विस्तार पनि गर्न थालेको छ । संस्थाले तिल्कीका विभिन्न जातलाई मिलाएर एउटा बनाउने काम गरेको अध्यक्ष पाण्डेले बताए । पछिल्लो समयमा तिल्की धान लगाउनेहरु पनि बढेका छन् । उत्पादित धानको बीउ बजारसम्म पठाइने गरेको छ ।
रामपुरको जैविक विविधता कृषि सहकारी संस्थाले जिल्लामा पाइने लोपोन्मुख बालीको संरक्षण गर्दै आएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत भरत पोख्रेलले बताए।
“पुराना लोप हुन लागेका बालीहरुको संरक्षण गर्ने काम भएको छ, संस्थाले धान, गहुँ, मकै, तोरी तथा तरकारीका बाली संरक्षण गर्ने काम गरेको छ”, पोख्रेलले भने ।
संस्थाले बालीको मूल बीउ संरक्षणका साथसाथै कृषकलाई आवश्यक परेमा बीउसमेत उपलब्ध गराउने गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया