सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ‘अवस्ट्रेक्टिभ, फिस्टुला, सर्भाइकल तथा स्तन क्यान्सरको स्क्रिनिङ’ सम्बन्धी एकदिने अभिमुखीकरण सोमवार सम्पन्न भएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आयोजित एकदिने अभिमुखीकरणमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा अन्य महिलाको सहभागिता थियो । अभिमुखीकरणमा प्राथमिक स्वास्थ्य केन्द्र तोपाका डा प्रकाश सिंह, जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा, कल्पना मण्डल र चन्द्रा नेपालीले सहजीकरण गरेका थिए।
शरीरका अन्य हिस्साहरुमा फैलिइसकेपछि मात्र क्यान्सरको लक्षण देखिने भएकाले क्यान्सरको निदानका लागि नियमितरूपमा स्क्रिनिङ आवश्यक रहेको डा. सिंहले बताए । क्यान्सर आफैँमा डरलाग्दो रोग भए पनि उपचार नै नहुने रोग भने होइन । शुरुवाती चरणमा उपचार थालियो भने क्यान्सर पूर्णतः निको हुन्छ ।
उपचार जटिल बनेपछि ढिलो गरेर मात्र क्यान्सर लागेको थाहा पाइने गरेकाले क्यान्सर ठूलो समस्या बन्ने गरेको छ । नेपालमा अझै पनि ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् ।
अभिमुखीकरणपश्चात बुधबार प्राथमिक स्वास्थ्य केन्द्र तोपामा त्यस्ता समस्या भएका महिलाका लागि स्क्रिनिङ शिविर सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत झाले बताए । विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार महिलामा सबैभन्दा बढी स्तन, कोलोरेक्टल, फोक्सो, श्वासनली र पेटसम्बन्धी क्यान्सर पाइएका छन् ।
यसैगरी पुरुषमा फोक्सो, श्वासनली, कोलोरेक्टल, पेटसम्बन्धी क्यान्सर बढी हुन्छन् । संसारभर प्रत्येक आठमध्ये एक जना क्यान्सरका कारण मर्छन् । यसबाट हुने मृत्युको सङ्ख्या मलेरिया, क्षयरोग र एड्सका कारण हुने मृत्युको कूल सङ्ख्याभन्दा बढी छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया