बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको २०७६ फागुन २१ को फैसलाअनुसार कैद र जरिवाना ठहर भएका काठमाडौं महानगरपालिका–१६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार र तारकेश्वर नगरपालिकाका ४१ वर्षीय विश्वमर्दन बस्नेतलाई आइतवार पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई अदालतले १४ लाख ६९ हजार ६४० रुपैयाँ जरिवाना र पाँच दिन कैद तथा बस्नेतलाई १३ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद ठहर गरेकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

पक्राउ परेका सुनार र बस्नेतले पीडित दीपककुमार विश्वकर्मालाई रकम नभएको विभिन्न बैंकको चेक काटेर बैंकिङ अपराध गरेका थिए । प्रहरीले सुनारलाई तारकेश्वर र बस्नेतलाई धर्मस्थलीबाट पक्राउ गरेको थियो । पक्राउ परेका दुबैजनालाई प्रहरीले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पेश गरेको सिआइबीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?