दुर्लुङका पहिरो पीडितलाई तमु समाज युकेद्वारा सहयोग

पर्वत । गत जेठ ३१ गत राति नौ जनाको ज्यान जाने गरी गएको विनाशकारी पहिरो पीडितलाई तमु समाज युकेले आर्थिक सहयोग प्रदान गरेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङस्थित काहुलेमा गएको पहिरोबाट दुई परिवारका नौ जनाको ज्यान गएको थियो ।

मृतकका परिवार र पहिरोबाट विस्थापित बनेका परिवारलाई तत्काल जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले तमु समाज युकेले सङ्कलन गरेर पठाएको राहत आइतबार एक कार्यक्रमका बीच वितरण गरिएको हो । प्रतिनिधिसभाका सांसद पदम गिरीले पीडितलाई राहत रकम हस्तान्तरण गरेका थिए ।

मृतक नौ जनालाई २७ हजार ३०० रुपैयाँको दरले दुई लाख ४५ हजार ७०० रुपैयाँ हस्तान्तरण गरिएको छ । पहिरोमा परी आमा, बाबु, छोरा र छोरी गुमाएका ओमबहादुर थापालाई एक लाख नौ हजार २०० रुपैयाँ, श्रीमती र छोराछोरी गुमाएका विकास थापालाई ८१ हजार ९०० रुपैयाँ र श्रीमती र छोरा गुमाएका बलबहादुर थापाको परिवारलाई ५४ हजार ६०० रुपैयाँ हस्तान्तरण गरिएको हो ।

पहिरो पीडित भुवन गिरीलाई ५४ हजार ९७२ रुपैयाँ र अन्य चार परिवारलाई ४० हजार ४०० रुपैयाँको दरले राहत वितरण गरिएको हो । पहिरोका कारण भुवन गिरी, हस्तीदेवी शर्मा, उजेली शर्मा, नन्दीकुमारी गुरुङ र पशुपति सिंजालीको परिवार मगर विस्थापित बनेको छ । हाल बेलायतमा रहेका तमु समाज युकेका उपाध्यक्ष शिवकुमार गुरुङको संयोजकत्वमा जीवन गुरुङलगायतले उक्त राहत रकम सङ्कलन गरी पठाएको स्थानीय राजन गुरुङले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?