विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं १ का १४ वटा जिल्लाका अध्यक्ष एवं सचिवले पार्टीलाई विभाजनबाट रोक्न आज माग गरेका छन्। नेकपाका १४ जिल्लाका अध्यक्ष एवं सचिवले आज विराटनगरमा आयोजित सामूहिक पत्रकार सम्मेलनमा आपसी विभाजनले पार्टीलाई क्षति पुग्ने हुनाले एकताको कामलाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् ।
उनीहरुले करिब दुई तिहाइको जनमतसहित इतिहासले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन् गर्नुपर्नेमा जोड दिँदै टुटफुट र विभाजन रोक्ने गरी पहल गर्न सिङ्गो नेतृत्व र आम पार्टी पङ्क्तिमा पनि आग्रह गरिएको छ । नेकपाका केन्द्रीय सदस्य गुरु बरालले सरकारलाई निरन्तरता दिइ यसमा भएको कमीकमजोरी सच्याई पार्टी सुदृढ एकता कायम गर्नुपर्नेमा जोड दिए । नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई हृदयाङ्गम गरी पार्टी एकतामा जोड दिए ।
नेकपाका १४ जिल्लाका तर्फबाट पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाइने अध्यक्ष पोखरेलले बताए । पत्रकार सम्मेलनमा १४ जिल्लाका अध्यक्ष एवं सचिवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिसमेत पढेर सुनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया