म्याग्दी । बेनी नगरपालिकाले अत्याधुनिक औजारको प्रयोग गरेर विकास आयोजनामा प्रयोग भएका सिमेन्ट, बालुवा र गिट्टीको गुणस्तर परीक्षण शुरु गरेको छ ।
नाली, सडक ढलान, भवनको पिल्लर, ढलानलगायत रड राखेर सिमेन्ट, बालुवा र गिट्टी मिसाएर गरिएका कङ्क्रिटको अत्याधुनिक रिबाउण्ड ह्याम्बर औजारको सहायताले गुणस्तर चाँच गर्न थालिएको हो । उपभोक्ता समिति र निर्माण व्यवसायीले तोकिएको गुणस्तरअनुसारको निर्माण सामग्री मात्रा र अनुपात मिलाएर सही तरिकाले प्रयोग गरे नगरेको मापन गरिएको इञ्जिनीयर विमलरञ्जन कार्कीले बताए ।
“बेनी–पाखापानी सडकको आँपरुखदेखि अर्र्थुङ्गे देउराली सडकमा निर्मित नाली र जामुनाखर्क मावि जाने सडकमा गरिएको ढलानको शुक्रवार गुणस्तर परीक्षण गरियो”, उनले भने, “७३५ मिटर नाली मध्य करिव ३०० मिटर मात्र गुणस्तर परीक्षणमा सफल भएको छ ।” २८ दिनअघि ढलान गरिएको नालीले २० न्यूनतन १२ मिलिमिटर स्कायर क्षमताको चाप धान्नुपर्नेमा सो नसकेपछि गुणस्तर नपुगेको पहिचान भएको हो । मापदण्ड र गुणस्तर नपुगेको नाली भत्काएर पुनः बनाउन लगाउने इञ्जिनीयर कार्कीले बताए ।
उपभोक्ता समितिमार्फत जामुनाखर्क मावि जोड्ने सडकमा गरिएको ढलान भने तोकिएको गुणस्तरअनुसार पाइएको छ । कङ्क्रिट टेस्ट ह्याम्बर चालु गरेर अठाउँदा तोकिएको गुणस्तरअनुसारको काम भए नभएको पहिचान गर्न सकिन्छ । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले कङ्क्रिट गरिएका सबै आयोजनाको गुणस्तर परीक्षण गर्न उपकरण खरिद गरिने बताए । प्रविधिको प्रयोगबाट गुणस्तर परीक्षण गर्दा उपभोक्ता, निर्माण व्यवसायी र प्राविधिक तथा अनुगमन समितिलाई जवाफदेही बनाउने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए ।
नगर क्षेत्रमा सङ्घ र प्रदेश सरकारले सञ्चालन गरेका योजनाको पनि यही विधिबाट गुणस्तर मापन गर्ने उनको भनाइ छ । आँखाको भरमा गरिँदै आएको अनुगमनलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन औजारको प्रयोगले सहयोग पुग्ने बताए । नगर कार्यपालिकाको भौतिक पूर्वाधार समितिका संयोजक कृष्णकुमार विश्वकर्माले कङ्क्रिट गरिएका नगरका सबै आयोजनाको यही विधिबाट गुणस्तर परीक्षण गर्ने बताए । निर्माण व्यवसायी महासङ्घ म्याग्दीका उपाध्यक्षसमेत रहनुभएका खुसीहोम प्रालिका सञ्चालक मनोज कार्कीले दक्ष कामदार र गुणस्तरअनुसारको निर्माण सामग्री नपाउँदा कमजोरी भएको स्वीकार गरे ।
एक करोड ३० लाख २१ हजार रुपैयाँ लागत अनुमान गरिएको बेनी–पाखापानी सडकको एक किलोमिटर कालोपत्रे, ७३५ मिटर नाली र १३० मिटर ढलान गर्न खुसीहोम प्रालिले ८८ लाख १८ हजारमा ठेक्का लिएको थियो । हालसम्म नाली बनाउने काम मात्र भएको नगरपालिकाका प्राविधिक चन्द्रबहादुर थापाले बताए । कोरोनाको जोखिम र लकडाउनको कारण देखाएर ठेक्का सम्झौताको म्याद थपको तयारी भएको छ । अर्थुङ्गे ब्यारेक आसपासका क्षेत्रमा निर्माणाधीन सडक हिलाम्मे हुँदा आवतजावतमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया