सप्तरी । स्थानीयले जग्गा दान गरेपछि सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा अस्पताल निर्माण हुने भएको छ । गाउँका चार जनाले साढे ६ कट्ठा क्षेत्रफलको जग्गा दान गरेपछि अग्नीसाइर गाउँपालिका–६ स्थित रतवला महुलीमा १५ शैयाको अस्पताल निर्माण हुने भएको हो ।
अस्पतालका लागि स्थानीय हेमनाराण चौधरीले चार कठ्ठा, देवकान्त चौधरीले एक कठ्ठा दश धुर तथा सबुरलाल चौधरी र सुरतलाल चौधरीले १०/१० धुर जग्गा दान गरेको अस्पतालकी संयोजक रहेकी वडाध्यक्ष कुसुमा आचार्यले जानकारी दिइन् ।
अस्पताल निर्माणस्थलमा आयोजित एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, वडा नम्वर–६ की अध्यक्ष आचार्य र जग्गा दाताहरुले संयुक्त रुपमा अस्पताल भवनको बिहीवार शिलान्यास गरे ।
पूर्वपश्चिम लोकमार्गदेखि करिव २०० मिटर उत्तरतर्फ निर्माण हुन लागेको उक्त अस्पतालको कूल लागत पाँच करोड रुपैयाँ रहेको छ ।
वडावासीहरुको सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच स्थापित गर्ने उद्देश्यले प्रदेश सरकारको योजनाअन्तर्गत अस्पतालको निर्माण हुन लागेको अध्यक्ष आचार्यले बताए ।
गाउँपालिकाका अध्यक्ष चौधरीले आरम्भमा १५ शैयाको अस्पताल भए पनि आगामी वर्षदेखि स्तरोन्नती गर्दै भौतिकलगायत सबै क्षेत्रमा प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको बताए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया