‘घुम्टे पत्रकारिता पुरस्कार-२०७७’ बाट पत्रकारद्वय पुरस्कृत

बागलुङ । गलकोट नगरपालिकाले प्रदान गर्ने ‘घुम्टे पत्रकारिता पुरस्कार–२०७७’ बाट पत्रकार थम्मन थापा र उत्कृष्ट पत्रकारतर्फ सरिता खत्री पुरस्कृत भएका छन् ।

सातौँ नगरसभामा बिहीवार नगरप्रमुख भरत शर्मा गैरेले पत्रकारद्वयलाई नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । घुम्टे पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ छ । यस्तै वर्षको उत्कृष्ट पत्रकारमा छनोट भएकी खत्री नगद चार हजार रुपैयाँ सहित सम्मानित भएकी हुन्।

पत्रकारको सम्मान र प्रोत्साहनका लागि नगरपालिकाले विसं २०७४ मा सो पुरस्कार स्थापना गरेको थियो । गलकोट पत्रकार समाजका संस्थापक अध्यक्षसमेत रहेका थापा गलकोटमै रहेर पत्रकारितामा क्रियाशील छन् । खत्री सामुदायिक रेडियो गलकोट एफएमकी कार्यक्रम संयोजक हुन् । पुरस्कारले पत्रकारितामा थप क्रियाशील भएर लाग्न प्रेरित गरेको उनले बताइन् ।

पत्रकारितामार्फत समाज रुपान्तरणको अभियानमा योगदान पुर्याउने पत्रकारलाई वर्षेनी पुरस्कृत गरिने नगरउपप्रमुख रेणुका काउचाले जानकारी दिइन् । नगरपालिकाले पत्रकारसहित उत्कृष्ट किसान, कर्मचारी, शिक्षाप्रेमी, सामाजिक व्यक्तित्वलगायतलाई सम्मान गरेको थियो । नगरपालिकाले आउँदो आवका लागि ६२ करोड ४६ लाख ८१ हजार रुपैयाँ बराबरको आयव्यय सार्वजनिक गरेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?