कैलाली । कोरोनाका जोखिमका कारण कैलालीको त्रिनगर भन्सार सीमानाकाबाट स्वदेश भित्रिने नेपालीको उद्धार जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोसीले भारतका विभिन्न शहरबाट नेपाली स्वदेशै भित्रिने क्रम जारी रहेका जानकारी दिए ।
उनले भन्सार नाकाबाट हालसम्म जम्मा ८६ हजार ५०० जना स्वदेश भित्रिएका बताए । “जेठ ११ गतेदेखि २६ गतेसम्म सिमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै भएको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको छ”, उनले भने, “अहिले दिनमा २०० को हाराहारीमा नेपाली स्वदेश भित्रिरहेका छन् ।”
शुरुका दिनमा सोही नाकाबाट एकै दिनमा छ हजारसम्म पनि भित्रिएका तथ्याङ्क रहेको छ । भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने अनुमान गरिएको छ ।
स्वाब सङ्कलन जारी
धनगढी उपमहानगरपालिकाले पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन जारी राखेको छ । नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र बेलीमा विभिन्न वडाका क्वारेन्टाइन रहेकाको स्वाब सङ्कलन भइरहेको जनाइएको छ ।
कोरोना पोजेटिभ देखिएकालाई उपमहानगरपालिकाले आफ्नै आइसोलेशनमा राख्ने गरेको नगरप्रमुख नृपबहादुर वडको भनाइ छ । “पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ भन्ने हाम्रो शुरु देखिकै माग हो”, उनले भने, “अहिले क्वारेन्टाइनमा रहेकाको परीक्षण गर्दै छौँ, सम्भावना भएसम्म नमूनाका रुपमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पनि गर्नेछौँ ।”
उपमहानगरपालिका कोभिड–१९ उपसमितिका संयोजक नारायणप्रसाद बरालले किटको अभावका कारण चाहेर पनि धेरै व्यक्तिको पिसिआर परीक्षण हुन नसकेको र अब दायरा बढ्ने बताए । स्वास्थ्य अधिकृत लक्ष्मीराज उपाध्यायले विभिन्न क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब सङ्कलन सङ्कलन हुने जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया