सडकमा एक चौथाइ बजेट विनियोजन

म्याग्दी । म्याग्दीका स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि सडकमा पूँजीगत बजेटको एक चौथाइभन्दा बढी विनियोजन गरेका छन् । दुई अरब ६२ करोड ६२ लाख ४१ हजार ५९३ रुपैयाँको कूल बजेट भएका छ वटा पालिकाको पूँजीगततर्फको ८८ करोड ६३ लाख ७५ हजार ८९ रुपैयाँ छ । सडक पूर्वाधारका लागि २५ करोड ३८ लाख एक हजार ५८० रुपैयाँ अथवा २८ प्रतिशत बजेट छुट्टाएका हुन् ।

भौगोलिक आबद्धता कायम, कृषि तथा उद्योग व्यवसायको विकास, जनजीवन सहज र उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिमा जोड दिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । पूँजीगततर्फ १७ करोड ९८ लाख ८५ हजार ५६० रुपैयाँ विनियोजन गरेको मङ्गलाले सडकलाई सात करोड ८९ लाख १५ हजार रुपैयाँ छुट्टाएको छ । बेनीलाई स्मार्ट सिटी बनाउने महत्वकांक्षी योजना अघि सार्दै पूँजीगततर्फ १९ करोड ४० लाख रुपैयाँ छुट्टाएको बेनी नगरपालिकाले सडकमा पाँच करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

१२ करोड ६५ लाख ५२ हजार रुपैयाँ पूँजीगत बजेट विनियोजन गरेको भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाले सडकमा तीन करोड ६४ लाख ८६ हजार ५८० रुपैयाँ राखेको छ । सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको मुदी र मल्कवाङ यसै महिना सडक सञ्जालमा जोडिएका छन् । १३ करोड ६५ लाख पाँच हजार ९४९ रुपैयाँ विकास बजेट रहेको मालिका गाउँपालिकाले दरवाङ बजारदेखि वडा कार्यालय जोड्ने सडक स्तरोन्नति र बस्तीमा सडक विस्तार गर्न तीन करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको छ । मालिकाले कूल लागतको तीन प्रतिशत मर्मतसम्भार कोषमा राख्ने नीति लिएको अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

११ करोड ५८ लाख ३१ हजार रुपैयाँ पूँजीगत बजेट विनियोजन गरेको रघुगङ्गा गाउँपालिकाले सडकमा तीन करोड २० लाख रुपैयाँ छुट्टाएको छ । १३ करोड ३६ लाख रुपैयाँ पूँजीगत बजेट विनियोजन गरेको अन्नपूर्ण गाउँपालिकाले सडक आयोजनाका लागि एक करोड ६७ लाख रुपैयाँ राखेको छ । सडकलगायता पूर्वाधारसम्बन्धी विकास आयोजना निर्माणमा कोरोनाका कारण रोजगारी गुमाएर विदेश र शहरबाट फर्किएकालाई परिचालन गर्ने नीति लिएको रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

सङ्घीय र प्रदेश सरकारसँग साझेदारीमा सञ्चालन हुने पूर्वाधार योजनाका लागि समपूरक कोषमा ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण, नियन्त्रण र व्यवस्थापन गर्नका लागि विपद् व्यवस्थापन कोषमा सात करोड २७ लाख १३ हजार रुपैयाँ विनियोजन गरेका छन् । बेनी नगरपालिकाले ९० लाख रुपैयाँ, धौलागिरिले ७५ लाख रुपैयाँ, मालिकाले एक करोड ७६ लाख १३ हजार रुपैयाँ, मङ्गलाले ८६ लाख रुपैयाँ, रघुगङ्गाले एक करोड ६० लाख रुपैयाँ र अन्नपूर्णले एक करोड ४० लाख रुपैयाँ विनियोजन गरेका छन् ।

कृषि र पशुपालन क्षेत्रमा छ करोड २६ लाख ४० हजार रुपैयाँ अथवा सात प्रतिशत बजेट छुट्टाएका छन् । बेनीले एक करोड २५ लाख रुपैयाँ, धौलागिरिले एक करोड दुई लाख रुपैयाँ, मालिकाले ७६ लाख रुपैयाँ, मङ्गलाले ९२ लाख ७० हजार रुपैयाँ, रघुगङ्गाले एक करोड ६० लाख रुपैयाँ र अन्नपूर्णले सत्तरी लाख रुपैयाँ विनियोजन गरेका छन् ।

कोरोनाका कारण विदेश र शहरबाट फर्किएर कृषि, पशुपालन, जडीबुटी खेती र लघुउद्यम गर्नेलाई अनुदान दिन ३० लाख रुपैयाँको युवा स्वरोजगार कोष बनाएको धौलागिरिकी अध्यक्ष थमसरा पुनले बताए। शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिको तलबभत्ता, कार्यालय सञ्चालनसहित चालु शीर्षकमा एक अर्ब ५६ करोड ७७ लाख ७० हजार रुपैयाँ विनियोजन गरेका छन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विनियोजन भएकोमध्ये ५० प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?