काठमाडौं । योग गुरु रामदेवको पतन्जली आयुर्वेदले यसअघि कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको थियो । तर अहिले बोली फेरिएको छ ।
उत्तराखण्ड आयुष विभागले स्पष्टीकरण सोधेपछि त्यसको जवाफमा पतन्जलीले कोरोनाको औषधि बनेको दाबी नगरेको जवाफ फर्काएको छ । यसअघि बाबा रामदेवले २३ जुनमा भनेका थिए, ‘पतन्जलीले जयपुरको निम्स विश्वविद्यालयसँग मिलेर कोरोनाको औषधि बनाएको छ ।
तर अहिले पतन्जलीको जवाफ फरक छ । ‘हामीले भनेका थियौं कि एक औषधि बनेको छ, जसले कोरोनाका बिरामी पनि ठिक भएका छन् ,’ पतन्जलीका सिईओ आचार्य बालकृष्णले दिएको स्पष्टीकरणमा उल्लेख छ,‘ हामीले कहिल्यै औषधीले कोरोना ठिक वा नियन्त्रित हुने दाबी गरेका छैन ।’ बालकृष्णका अनुसार यस विषयमा योजनाबद्ध रुपमा भ्रम फैलाउनगरी षड्यन्त्र रचिएको छ ।
उत्तराखण्ड आयुर्वेद विभागका लाइसेन्स अधिकारी वाईएस रावतका अनुसार पतन्जलीले दिएको स्पष्टीकरणमा कोरोना किटको नामबाट कुनै किट प्याक ननिकालेको दाबी गरिएको छ । पतन्जलीका अनुसार केवल दिव्य कोरोनिल ट्याबलेट, दिव्य अणु तेल र स्वासारी वुटीलाई प्याक गरिएको छ । रावतका अनुसार अब पतन्जलीलाई कोरोना किटबाट भाइरसको चित्र हटाउन भनिनेछ ।
कोरोनाको औषधिका विषयमा नैनीताल हाईकोर्टमा पनि पतन्जली आयुर्वेदविरुद्ध उजूरी दर्ता भएको छ । घटनाको सुनुवाई गर्दै अदालतले केन्द्र सरकारका नाममा नोटिस जारी गरेको छ । असिस्टेन्ट सोलिसिटर जनरल अफ इन्डियालाई बुधबार हुने सुनुवाईमा उपस्थित भएर यस मामिलामा केन्द्र सरकारको धारणा राख्न आदेश दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया