काठमाडौं – कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको आइतबार अस्पतालको बहिरङ्ग सेवामा तीन सय ८९ जना उपचारका लागि आएका थिए ।
त्यस्तै आकस्मिक सेवामा ८२ जना रहेका थिए । अस्पतालमा आइतबार बिरामीको सङ्ख्या बढी हुने गर्दछ । मङ्गलबार बहिरङ्ग सेवामा तीन सय १५ र आकस्मिकमा एक सय ११ उपचारका लागि आएका थिए । लकडाउनसँगै बिरामीको सङ्ख्या निकै घटेको थियो ।
चैतको २६ गते बहिरङ्ग सेवामा ३१ र आकस्मिक सेवामा एक सय ४० जनाले उपचार लिएका थिए । अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या पनि बढेको छ ।
अस्पतालले यही आइतबारबाट बहिरङ्ग सेवाको टिकट काट्ने समय बिहान ९ देखि १२ बजेसम्म बनाएको छ । यसअघिको भन्दा समय दोब्बर बढेको हो ।
अस्पतालको प्रसूति सेवामा बिरामीको चाप निकै बढेको छ । विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलका अनुसार दैनिक सरदर ३० जना गर्भवतीले अस्पतालमा बच्चा जन्माएका छन् ।
पूर्ण लकडाउनको समयमा यो सङ्ख्या १५ हाराहारी सम्ममा झरेको थियो । गर्भवती हुनेमध्ये ३० देखि ४० प्रतिशतको शल्यक्रिया गरिन्छ ।
पोख्रेलले अस्पतालमा कोरोनाको डर मान्नुपर्ने अवस्था नरहेको बताउँदै सुरक्षित ढङ्गबाट बच्चा जन्माउने काम भइरहेकाले महँगो शुल्क तिरेर निजीमा जानुपर्ने अवस्था नभएको बताए। बालसघन उपचारकक्ष समेत भएकोले अस्पतालमा बच्चा जन्माउनेको सङ्ख्या बढ्दो रहेको छ ।
पोख्रेलले गत वर्षभरिमा १३ हजार पाँच सय गर्भवतीले अस्पतालमा बच्चा जन्माएको भन्दै यस वर्षको जेठ मसान्तसम्ममा १२ हजार तीन सय जनाले बच्चा जन्माइसकेको बताए। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोनाका बिरामी छुट्टै ठाउँमा अलग बाटो जाने गरी राखिएकाले अन्य बिरामीलाई कुनै समस्या नरहेको बताए ।
अस्पतालमा बहिरङ्ग टिकट लिने समय बढेको र सरकारी अस्पताल सुरक्षित छ भन्ने सन्देश सबैमा पुगेका कारण बिरामीको सङ्ख्या बढ्दै गएको बताइएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जिल्लामा सबैभन्दा सुरक्षित अस्पताल भरतपुर अस्पताल भएको भन्दै उपचारका लागि आउने बिरामीलाई कुनै जोखिम नरहेको बताए।
“अहिले सबैतिर जोखिम छ”, उनले भने पूर्ण पालना गरेर उपचार हुने भएकाले सरकारी अस्पताल सुरक्षित छ ।- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया