तातोपानीले स्नान गर्न सकिने पोखरी निर्माण

म्याग्दी । पर्यटकलाई आकर्षित गर्न म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजामा तातोपानीले स्नान गर्न सकिने पोखरी निर्माण भएको छ ।

रघुगङ्गा नदीको किनारमा रहेको मुहानबाट निस्कने प्राकृतिक तातोपानी सङ्कलन गरेर शरीरलाई डुबाएर स्नान गर्न मिल्ने दुई पोखरी निर्माण भएको हो ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी बनाइएको उपभोक्ता समितिका अध्यक्ष दिलप्रसाद पुनले जानकारी दिए ।

एउटामा २० र अर्कोमा १० जना बस्न सक्ने क्षमताको पक्की पोखरी बनाइएको छ । पोखरी बनाउन कार्यालयले रु ३५ लाख सहयोग गरेको थियो ।

कोरोनाको जोखिम र बन्दाबन्दीका बीच पनि स्थानीय मजदुरलाई परिचालन गरेर पोखरी बनाएको अध्यक्ष पुनले बताए।

दर्मीजा गाउँको फेदीमा रहेको सो ठाउँमा ५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने मुहान छ ।

सो मुहानको पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा छालासम्बन्धी, चोटपटक लागेको, बज्रिएको, सुन्निनेजस्ता स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

यसअघि त्यहाँ एक मात्र पोखरी थियो । पर्यटकलाई लक्षित गरेर नयाँ पोखरी बनाएको स्थानीय युवा सुविन शेरपुजा पुनले बताए।

दर्मीजा आउने पाहुना र पर्यटकलाई तातोपानीको पोखरीमा स्नान गर्ने व्यवस्था मिलाइने उनले बताए । पोखरी नजिकै आकर्षक झरना पनि छ ।

गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको पहलमा सो योजनाका लागि बजेट विनियोजन भएको हो ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत दर्मीजामा सिँचाइ आयोजना निर्माणका लागि हालै ठेक्का सम्झौता भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको शिक्षासम्बन्धी कार्यालयको सहयोगमा शिव आधारभूत विद्यालयमा दुईकोठे भवन निर्माण भएको छ ।

गाउँपालिका र वडा कार्यालयले विनियोजन गरेको रु १५ लाख बजेटबाट दिपशिखा युवा क्लबको खेलमैदान ढलान गरेको छ ।

सलह भित्रिएपछि कृषक चिन्तित

खेतीबालीका बिरुवा नष्ट गर्ने सलह किरा भित्रिएपछि हिमाली जिल्ला म्याग्दीका कृषक चिन्तित भएका छन् ।

बेनी नगरपालिका, अन्नपूर्ण, मालिका, रघुगङ्गा, मङ्गला र धवलागिरि गाउँपालिकामा मङ्गलबार सलह किरा भेटिएको हो ।

केही दिनअघि भारतबाट तराईका जिल्लामा भित्रिएको सलह पहाडी क्षेत्र हुँदै धवलागिरि हिमालको फेदीमा रहेको मुदीबाट उकालो लागेको छ ।

लाखौँको सङ्ख्यामा आकाशै छोपिने गरी म्याग्दी नदीको किनारैकिनार धवलागिरि हिमालतर्फ उडेका धवलागिरि–७ बगरका कृषक भुवानी पौडेलले जानकारी दिए ।

मङ्गला गाउँपालिकाको सयमुरे फाँटमा चार रोपनी खेतमा भर्खरै रोपिएको धानको बिरुवा सलहले नष्ट पारेको स्थानीय श्रीराम पौडेलले जानकारी दिए ।

मालिका गाउँपालिका–४ सिस्नेरीमा पनि सलहको हुल देखिएको स्थानीय बालकुमार सुनारले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको दानामा पनि सलह देखिएको स्थानीय गङ्गा पुनले बताए ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले सलहले पार्न सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

रघुगङ्गा गाउँपालिकाले एक किलो सलह नियन्त्रणमा लिनेलाई रु १५ का दरले व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

गाउँपालिकाभित्र सलह किरा देखिएमा खाडल पारी गाडेर प्रकोप बढ्नबाट जोगाउने कृषकरव्यक्तिहरुलाई प्रतिकेजी १५ रुपैयाँका दरले व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय भएको अधिकृत सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सलह नियन्त्रणका लागि आगो फुक्ने, चर्को स्वर आउने बाध्ययन्त्रहरु बजाउने, रुख हल्लाउने, छोप्ने वा धपाउने गरेमा यसले क्षति पुर्याउन नपाउने कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत गोविन्द पाण्डेले बताए। म्याग्दीमा अहिले खेतको मकैबाली भित्र्याउन शुरु भएको छ । बारीमा लगाएको मकैबाली हुर्किँदै छ । बारीमा कोदो र खेतमा धान रोप्ने चटारो छ ।

व्यवसायिकरूपमा टनेलबाहिर लगाइएको तरकारीबालीमा क्षति पुर्याउन सक्ने भएकाले कृषकलाई सचेत हुन आग्रह गरिएको छ । सलह समूहमा उड्ने तर एकै ठाउँमा नबस्ने जातको किरा हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?