जैमिनीका किसानलाई छैन बाँदरको चिन्ता

गलकोट । बाँदरका कारण वर्षौँदेखि चिन्तित रहेका बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका किसानलाई राहत मिलेको छ ।

वर्ष दिन खाने अन्नपात बाँदरले क्षणभरमै नष्ट गर्ने भएपछि बाँदर हेरेरै दिन कटाउने किसान अहिले ढुक्क भएर घरमै बस्न थालेका छन् । अहिले किसानलाई बाँदर आतङ्कको चिन्ताले सताउन छाडेको छ ।

नगरपालिकाले नेपालमा हालै विकास भएको बाँदर धपाउने यन्त्र वितरण गर्न थालेपछि किसान खुशी भएका छन् । बाँदर नियन्त्रणका लागि किसानको तीव्र गुनासो र मागपछि नगरपालिकाले बाँदर धपाउने यन्त्र खरिद गरेर किसानलाई वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।

बाँदरको आतङ्कबाट पीडित बनेका नगरपालिका–१, ४ र ५ वडाका किसानलाई एक/एक थान बाँदर धपाउने यन्त्र वितरण गरिएको नगरपालिकाका उपप्रमुख लीला रानाले जानकारी दिइन् ।

“किसानले वर्षौँदेखि गर्दै आएको गुनासोपछि हामीले बाँदर धपाउने नयाँ विकल्प आत्मसात गरेका छौँ”, रानाले भनिन्, “परीक्षण सफल भएको भन्ने जानकारी आएको छ, यो सफल र प्रभावकारी भएपछि नगरका सबै वडामा बाँदर धपाउने यन्त्र वितरण गरिनेछ ।” बाँदर धपाउने औजार आएपछि किसानलाई धेरै राहतको महसुस भएको नगरपालिका–४ का कृषक मेघराज ढकालले बताए ।

बाँदर नियन्त्रणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

बाँदरले बाली नष्ट गर्न थालेपछि दिनभर खेतबारीमा बाली कुरेर बस्नुपर्ने समस्या आएपछि किसानले नगरपालिकालाई पटक–पटक बाँदर नियन्त्रणका लागि सहयोग गर्न आग्रह गर्दै आएका थिए । दुःख गरेर लगाएको धान, मकै, गहुँ, जौँ र फापरजस्ता बाली बाँदरले नष्ट गरेको भन्दै स्थानीयको तीव्र गुनासोपछि नगरपालिकाले बाँदर नियन्त्रणका विकल्पको खोजी शुरु गरेको थियो ।

यही असार ९ गते केही वडाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको र अन्य वडाका किसानलाई समेत बाँदर धपाउने यन्त्र खरिद गर्न अनुमति दिएको नगरप्रमुख इन्द्रराज पौडेलले जानकारी दिए। पहिलो चरणमा नगरपालिकाले स्याङ्जाबाट पाँच थान बाँदर धपाउने यन्त्र ल्याएर वितरण थालेको र किसानलाई सहज भएमा प्रत्येक वडामा १०/१० थानका दरले वितरण गर्ने नगरपालिकाको योजना छ ।

स्याङ्जाको भिरकोट नगरपालिका–७ का भविश्वर कोइरालाले लकडाउन अवधिभित्रै बाँदर धपाउने यन्त्र बनाएर सफल परीक्षणपछि बिक्री वितरण भइरहेको छ । उनको आविष्कारले यतिबेला किसानलाई राहत मिलेको छ ।

उनले बनाएको उपकरण दुई हजार रुपैयाँ देखि तीन हजार ५०० सम्ममा किन्न पाइन्छ । ठूलो आवाज निस्कने उक्त यन्त्रमा युपीभिसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको यन्त्र एक पटक पड्काएपछि बाँदर नै सो क्षेत्रबाट बसाइँ सर्ने आविष्कारकर्ताको दाबी छ ।

कार्बाइडमा पानी घोलेर यन्त्रमा हालेर पुच्छरमा आगो लगाएपछि ठूलो आवाजमा पड्किन्छ । त्यसको आवाज सुनेपछि बाँदर भाग्ने गरेका छन् । यसबाट कुनै बारुद, छर्रा वा गोली ननिस्कने भएकाले कुनै हानी नगर्ने प्रयोगकर्ता बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?