टरिगाउँ विमानस्थलमा ‘पाइलट’ विषय अध्ययन हुने

तुलसीपुर । दाङको तुलसीपुर –१२ स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ ।

उक्त विमानस्थलमा अन्तरराष्ट्रियस्तरबाटै पाइलट ल्याएर दक्ष जनशक्ति उत्पादन गरिने उनले बताए ।

अहिले अध्ययन पूरा भएकाले आवश्यक काम अघि बढाउन उपमहानगरपालिकाले पहल गरेको जनाइएको छ । विमानस्थलको स्तरवृद्धि गर्ने कार्य पनि अघि बढाइएको उनको भनाइ छ ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विमानस्थलको स्तरवृद्धि, थप उडान विस्तार र इन्धन डिपो स्थापनाका लागि पहल गर्न रु २५ लाख बजेट विनियोजन गरेको बताइएको छ ।

सङ्घीय सरकारले यस वर्ष घोराहीको नारायणपुरमा आन्तरिक विमानस्थलका लागि बजेट विनियोजन गरेको छ ।

टरिगाउँ एयरपोर्टमा आवश्यक बजेट विनियोजनका लागि पहल भइरहेको राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बताए ।

टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तारका लागि करीव २० करोड रुपैयाँ आवश्यक पर्ने भएकाले उक्त बजेट केन्द्र सरकारले विनियोजन गरेमा ठूला जहाज बस्न सक्ने उनको भनाइ छ । “हामीले जसरी पनि टरिगाउँ एयरपोर्टको स्तरवृद्धि गर्नुपर्छ, त्यसका लागि नियमित रुपमा केन्द्रमा पहल गरिहेका छौँ”, उनले भने, “ स्तरवृद्धि गरिएपछि नियमित र सहज उडान हुन्छ । यस विषयमा मैले राष्ट्रियसभामा पनि कुरा उठाएको छु, दाङका सांसदहरुले सामूहिक रुपमा पर्यटनमन्त्रीलाई दवाव पनि दिएका छन् ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?