न्यायाधीशको सुरक्षामा खटिएका प्रहरीले हाने आफैँलाई गोली, गयो ज्यान

काठमाडौं । सुनसरी जिल्ला अदालतका एक न्यायाधीशको सुरक्षामा खटिँदै आएका एक सुरक्षाकर्मीले आफैंलाई गोली दागेका छन् ।

सोमबार प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंलाई गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

उनी जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर बहादुर राईको सुरक्षामा खटिँदै आएका थिए । उनले अदालतको छतमा गएर पेस्तोलले आफ्नै कन्चटमा गोली हानेको प्रहरीले जनाएको छ ।

उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएपनि चिकित्सकले मृत घोषित गरेका थिए । प्रहरीले उनले किन यस्तो हर्कत गरे भन्ने खुल्न नसकेको भन्दै यसबारे अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?