२०७७, १५ असार सोमबार १९:३३

‘कोरोनासँग लडाइँ जारी छ, नथाकेरै लडौँ’


प्रकाशित मिति : २०७७, १५ असार सोमबार १९:३३

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको लडाईं नसकिएको भन्दै नथाकेरै लड्न निर्देशन दिएका छन् । उनको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै कोरोनाविरुद्धको लडाईंको मैदानमा अन्तिमसम्म पनि उत्साहपूर्वक उत्रनुपर्ने धारणा राखे ।

उनले भारतबाट कर्णाली भित्रिने नागरिकको चाप घट्दो क्रममा रहेको जनाउँदै अब समुदायस्तरमा केन्द्रित हुनुपर्नेमा जोड दिए । “कोरोना अति प्रभाव देखिएका सुर्खेत, दैलेख र सल्यान जिल्लाका समुदायस्तरमा पनि यसको सङ्क्रमण पुगेको हुनसक्छ”, मुख्यमन्त्री शाहीले भने, “यसको रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले परीक्षणमा जोड दिन्छ ।” ती जिल्लाको लकडाउनलाई अझै पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले मापदण्डलाई कडाइपूर्वक कार्यान्वयन गर्न सुरक्षा प्रमुखलाई निर्देशन गरे ।

उनले भने, “परीक्षणमा निकै ढिलासुस्ती भएको यो कार्यलाई तीव्र बनाइनेछ । परीक्षणका लागि नमूना सङ्कलन गरेको एक महिनासम्म पनि रिपोर्ट नआउँदा नागरिकमा आक्रोश बढेका कारण देखाएर पन्छिन मिल्ने अवस्था छैन ।” प्रदेश अस्पतालमा रहेको पिसिआर मेसिन मर्मतको व्यवस्था तत्काल गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै मुख्यमन्त्री शाहीले बिग्रेको मेसिन हेरेर बस्ने नभई त्यसको विकल्पको खोजी गर्नुपर्नेमा जोड गरे ।

भारतबाट आउनेको सङ्ख्या घट्दै गएकाले जिल्लास्तरबाटै व्यवस्थापन गर्न सकिने र क्वारेन्टाइनलाई अब जिल्लास्तरमा केन्द्रित गर्नुपर्ने उहाँको भनाइ थियो । बैठकले जिल्ला विपद् व्यवस्थापन केन्द्रको सिफारिसमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो पारेर क्वारेन्टिनका लागि प्रयोग भएका स्थानीयस्तरका सामुदायिक तथा सरकारी विद्यालय र सार्वजनिक संस्थाका भवन खाली गर्नुपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस