कोरोना संक्रमण नियन्त्रण गर्ने सिङ्गापुर सरकारले चाल्यो यस्तो कदम !

काठमाडौं । सिङ्गापुरमा कोरोनाभाइरस संक्रमणको गति नियन्त्रण गर्ने उद्देश्यसहित सरकारले कन्ट्याक्ट ट्रेसिङका लागि एउटा विशधेष उपकरण बाँड्न थालेको छ ।

ट्रेसटुगेदर नाम दिइएको उक्त उपकरण सरकारले निर्माण गरेको कन्ट्याक्ट ट्रेसिङ मोबाइल एपको विकल्पका रूपमा बाँडिएको हो ।

यो उपकरण मोबाइल फोन प्रयोग नगर्ने वा मोबाइल फोनमा सो एप राख्न नचाहने व्यक्तिहरूलाई लक्षित गरिएको छ । कतिपयले यसबाट गोपनीयता कायम हुने वा नहुने भन्ने विषयमा प्रश्न उठाएका छन् ।

यो उपकरण पहिलो चरणमा जोखिममा रहेका तर पारिवारिक सहयोग कम पाउने वा नपाउने एवम् हिँडडुल गर्न नसक्ने वृद्धवृद्धालाई बाँडिएको छ । ती प्रत्येक उपकरणका छुट्टाछुट्टै क्यूआर कोड रहेको छ र नौ महिनासम्म बिनाचार्ज चल्ने बताइएको छ ।

त्यो उपकरणले ब्लूटूथको माध्यमबाट नजिकै रहेका अन्य यस्तै उपकरण वा मोबाइल एपसँग सम्पर्क राखेर काम गर्छ । कोही संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका रहेछन् भने यो उपकरणको तथ्याङ्कको आधारमा स्वास्थ्य अधिकारीहरूले जानकारी दिने बताइएको छ ।

संक्रमण पुष्टि भएपछि त्यो उपकरणका भएका तथ्याङ्कहरू सङ्कलन गरेर त्यसको आधारमा सम्पर्कमा आएका व्यक्तिहरूको जानकारी बटुलिने बताइएको छ।

के हुन् अन्य विशेषता ? 

मन्त्रीहरूले यो उपकरणले व्यक्तिको हिँडडुलका बारेमा तथ्याङ्क नबटुल्ने भएकाले गोपनीयताबारे उठेका प्रश्न उचित नभएको बताएका छन् । सिङ्गापुर सरकारले यो उपकरणका तथ्याङ्क इन्क्रिप्टिड हुने र २५ दिनसम्म उपकरणका रहने बताएको छ ।

ती तथ्याङ्क उपकरणबिना इन्टरनेटबाट सङ्कलन गर्न नसकिने बताइएको छ। यो उपकरणमा इन्टरनेट वा जीपीएस नरहेको बताइएको छ । सिङ्गापुर सरकारका अनुसार यसको मोबाइल एप मार्च यता २१ लाख व्यक्तिले डाउनलोड गरिसकेको बताइएको छ ।

अधिकारीहरूले लकडाउन खुकुलो पारेर आर्थिक गतिविधि खुला गर्न अझ धेरै मानिसले सो एप डाउनलोड गर्नुपर्ने वा उपकरण प्रयोग गर्नुपर्ने बताएका छन् ।

ती उपकरण सिङ्गापुरस्थित पीसीआई कम्पनीले निर्माण गरेका हुन्। सो कम्पनीले यस्तो तीन लाख उपकरण निर्माण गर्नका लागि ४३ लाख अमेरिकी डलरका बोलकबोल गरेको बताइएको छ ।

सिङ्गापुरमा आइतवार २१३ नयाँ संक्रमण थपिएको छ र कुल संक्रमितको संख्या ४३,४५९ पुगेको छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?