याङवरकले सञ्चालनमा ल्यायो आवासीय विद्यालय

फिदिम । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पूरा हुँदै गर्दा पाँचथरको याङवरक गाउँपालिकाले आफ्ना उपलब्धिहरु सार्वजनिक गरेको छ ।

गाउँपालिकाको सातौँ गाउँसभामा उपाध्यक्ष कमलकुमारी योङहाङले तीन आर्थिक वर्षका प्रगति सार्वजनिक गरेकी हुन् ।

उनले गाउँपालिकाले भौतिक पूर्वाधार, सेवा प्रवाहका क्षेत्र, कृषि, सिँचाइ, खेलकूद, संस्थागत विकास, वन वातावरण तथा पर्यटन, आवश्यक ऐन निर्माणको अवस्थालगायत विषयका प्रगति प्रतिवेदन सार्वजनिक गरेकी हुन् ।

प्रतिवेदनका अनुसार भौतिक पूर्वाधारतर्फ गाउँपालिकाको प्रशासकीय तथा वडा नं २ र ५ को वडा कार्यालय भवन निर्माण सुरु , वडा नं ३ मा बर्थिङ सेन्टर, वडा नं ५ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको तथा छवटा खोप केन्द्रका भवन निर्माण भई सञ्चालनमा आएका छन् ।

यस्तै वडा नं ४ थर्पू बजारमा सामुदायिक भवन निर्माणाधीन, वडा नं ६ मा ज्येष्ठ नागरिक दिवा आश्रम, विभिन्न वडामा तीनवटा कृषि उपज सङ्कलन केन्द्रका भवन निर्माण भएका छन् ।

विगत तीन वर्षमा गाउँपालिकाले १० वटा विद्यालयमा नयाँ भवन तथा ब्लक निर्माण गरेको छ । सीमा नाका चिवाभञ्ज्याङमा घरबास निर्माण सम्पन्न, थर्पू बजार आसपासको क्षेत्रका लागि चिण्डेअसिने बृहत् खानेपानी आयोजना शुरु तथा अन्य २२ वटा साना तथा ठूला खानेपानी योजनाको मर्मत गरिएको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाले वडा नं ६ मा एउटा बृहत् सिँचाइ तथा विभिन्न वडामा १३ वटा सिँचाइ आयोजनाको मर्मत सम्पन्न भएका, छवटा लघुजलविद्युत्को मर्मत, गाउँपालिकास्तरीय खेलमैदान निर्माणका लागि वडा नं ६ बोझेधारामा डिपिआर सम्पन्न गरी निर्माण थालिएको र अन्य साना र ठूला गरी आठवटा खेलमैदान निर्माण गरिएको जनाएको छ ।

गाउँपालिकाले ५३ किलोमिटर सडकको नयाँ ट्र्याक खालिएको, ६५ किलोमिटर सडक स्तरोन्नति, ८० किलोमिटर सडकको डिपिआर तयार र ११ किलोमिटर गोरेटो बाटो निर्माण तथा मर्मत, पर्यटकीय क्षेत्रहरुको पहिचान गरी सूचीकृत ५२ मौलो निशानधाममा पर्यटकीय पूर्वाधार निर्माण गुरुयोजना तयार पारिएको, गाउँपालिकाले धार्मिक स्थलहरु, मठमन्दिरहरुमा पूर्वाधार निर्माण गरेको जनाएको छ ।

गाउँपालिकालाई नेपालकै सातौँ स्थानीय तहका रुपमा पूर्ण अनलाइन व्यक्तिगत घटना दर्ता गाउँपालिका घोषणा गरिएको छ । यहाँ सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, छवटा मावि र १५ वटा आधारभूत विद्यालयमा शिक्षक र कर्मचारीको विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ ।

डिजिटल सूचना पाटी, डिजिटल नागरिक वडापत्र , गाउँपालिकाका सेवाहरुलाई प्रभावकारी बनाउन विद्युतीय प्रणालीको व्यवस्था ,घरधुरी सर्वेक्षण गरी वस्तुगत विवरण तयार तथा एकीकृत आवधिक योजनासमेत कार्यान्वयनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको स्थापना, दुईवटा स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा शुरु, स्थानीय स्वास्थ्यचौकीहरुमा घुम्ती भिडियो एक्स–रे, जिल्लामा पहिलोपटक भौगोलिक विकटता र कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जान नसक्ने विद्यार्थीहरुका लागि च्याङथापूमा आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ ।

यस्तै लैङ्गिक हिंसामा परेका महिलाहरुलाई सुरक्षित राख्न गाउँपालिकाका दुई स्थानमा सुरक्षित आवासको व्यवस्था गरिएको छ । किशोरीहरुलाई आत्मरक्षा तालीम दिइएको छ भने वडा नं ४ लाई बालमैत्री वडा घोषणा गरिएको छ ।

गाउँपालिका भित्रका १४६ जना व्यक्तिलाई अपाङ्गता पहिचान गरी परिचयपत्र वितरण गरिएको छ ।

गाउँपालिकाले निकट भविष्यमा कुष्ठरोगविहीन गाउँपालिका निर्माण गर्ने उद्देश्यसहित कार्य अघि बढाइरहेको उक्त विवरणमा उल्लेख छ ।

गाउँपालिकाले सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरी आवश्यक सामग्रीको प्रबन्ध गरेको छ भने मेलमिलाप कार्यका लागि ३५ जना मेलमिलापकर्ताहरुलाई ४८ घण्टे तालीम दिइएको छ ।

गाउँपालिकाले नर्सरी निर्माण गर्नाका साथै नर्सरीमा उत्पादित बिरुवा ५० प्रतिशत छुटमा वितरण थालेको छ ।

बेमौसमी तरकारी खेतीका लागि टनेल वितरण, कृषक पाठशाला सञ्चालन, अलैँचीमा लागेका रोग कीरा नियन्त्रणमा लगानी गरिएको छ ।

गाउँपालिकाले पशुहरुको कृत्रिम गर्भाधान सेवा, प्राविधिक सेवा विस्तार, गोठ सुधार कार्यक्रम सञ्चालन, व्यावसायिक फर्महरु विस्तार, मासु पसल सुधार, पशुनस्ल सुधारका कार्यक्रमसमेत सञ्चालन गरिएको जनाएको छ ।

याङवरक गाउँपालिकाले ५२ मौलो कालिकाधाममा पार्किङस्थल निर्माण, पोखरी सरसफाइ तथा घेराबारा निर्माण, निशान नचाई मार हान्ने स्थान निर्माण गरेको छ । याङवरक–१ स्थित लामपोखरीमा पर्यटकीय आवासगृह निर्माण र सडक निर्माण, तिम्बुपोखरी जाने सडक निर्माणको शुरुवात गरिएको छ ।

गाउँपालिकाभित्र सहकारीहरुको क्षमता अभिवृद्धि, लेखा व्यवस्थापन तालीम, सहकारी व्यवस्थापनमा सहयोग तथा नियमित अनुगमन गर्ने प्रणालीको विकास गरिएको छ । गाउँपालिकाले विपत् व्यवस्थापन कोष निर्माण गरी राहतको प्रबन्ध गर्ने गरेको छ । गाउँपालिकाले आवश्यक पर्ने ऐन तथा कार्यविधिहरु निर्माण गर्दै आएको जनाएको छ । गाउँपालिकाको सातौँ गाउँसभाले आगामी आर्थिक वर्षका लागि ३४ करोड रुपैयाँ बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले जानकारी दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?