लालबन्दीमा देखियो सलह किरा

सर्लाही । जिल्लाको लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिए ।

जिल्लाको लालबन्दी नगरपालिका–२ स्थित तेलबाली अनुसन्धान कार्यक्रममा लगाइएको विभिन्न बालीमा सलह किराको प्रवेश देखिएको हो । “आज बिहान फिल्ड भिजिट गर्ने क्रममा बदाम, घैँचा, धानको बेर्नालगायतमा सलह किराले झ्याप्पै छोपेको देखियो ।”, तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ वैज्ञानिक डा. विशेश्वरप्रसाद यादवले जानकारी दिए । सलह किरा हजारौँको सङ्ख्यामा रहेको उनले बताए ।

“शुक्रवार राति छिमेकी देश भारतबाट करिव एक हजार फट्याङ्गराजस्तो देखिने जातको सलह नामक किरा नेपाल प्रवेश गरेको बुझिएको” उनले भने । जिल्लाका किसान चिन्तित बनेका छन् ।

फट्याङ्ग्र वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको केन्द्रले जनाएको छ ।

सलह किराले बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पुर्याउने जानकारले बताएका छन ।

विज्ञका अनुसार करोडौँको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्याउने विज्ञ बताएका छन् ।

प्राविधिक टोली खटिएको छ, त्यसको क्षेतिको प्रकृति जातलगाएतका बारेमा चाँडै पत्ता लगाउने ”उनले बताए। सलह किराको जातको पहिचान र व्यावस्थापन लगायतका काममा प्राविधिक टोली परिचालन भएको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?