सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक १६ गते बस्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको अर्काे बैठक असार १६ गते बस्ने भएको छ ।

शनिवार बिहान बसेको बैठक सकिएपश्चात प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक दुई दिनको लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

भोलि (१४ गते) मदन भण्डारी जयन्ती र पर्सी (१५ असार) दहि चिउरा खाने दिन भएकोले नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र अर्को बैठक असार १६ गते बालुवाटारमै बस्ने उनले बताए ।

आज बसेको बैठकमा सीमाबारे छलफल भएको थियो। २१ जना स्थायी कमिटी सदस्यले सीमाबारे धारणा राखेको श्रेष्ठले बताए। भूमि फिर्ता ल्याउनुपर्छ भन्नेमा सदस्यहरूले धारणा राखेको उनको भनाइ छ। त्यस्तै शुक्रवार बसेको बैठकमा १८ जना स्थायी कमिटि सदस्यले सीमाबारे आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रवक्ता श्रेष्ठको अनुसार असार १६ गते बस्ने बैठकमा सीमाबारे केहीबेर छलफल गर्ने र कोरोनालगायत एजेन्डामाथि छलफल हुनेछन् ।

आज बसेको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली केहीबेर उपस्थित भएर बाहिरीएका थिए । पहिलोपट असार १० गते बसेको बैठकले विभिन्न ७ एजेण्डाहरु पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?