काठमाडौं । भारतमा निर्वासित रहेर तिब्बत प्रशासकीय केन्द्रको प्रमुखको भूमिका निर्वाह गरिरहेका डा. लोबसाङ साङ्जेले चीनको कडा आलोचना गरेका छन् ।
उनले चीनले नोभेल कोरोना भाइरसको नियन्त्रण गर्न नसकेको र विश्वभर फैलाएको भन्दै आलोचना भईरहेका बेला ध्यान अन्यत्र मोड्न छिमेकीको सीमा अतिक्रमण शुरु गरेको आरोप लगाएका छन् ।
साङ्जेले पछिल्लो समय भारतसँग भएको हिंसात्मक झडप आफूलाई अनौठो नलागेको बताउँदै नेपाल र भुटानलाई समेत मुछेर विवादास्पद अभिव्यक्ति दिएका छन् ।
‘जब माओत्से तुङले तिब्बत कब्जा गरे । त्यतिखेर नै चीनले तिब्बत हत्केला भएको र नेपाल, भुटान, सिक्किम, लद्दाख र अरुणाञ्चल पाँच औँला भएको बताएका थिए’, उनले एक अन्तर्वार्तामा भनेका छन् ‘उनीहरुले आफ्ना औँलालाई जतिखेर पनि नचाउनसक्ने बताएका थिए । त्यसकारण लद्दाख र सिक्किम चीनले देखाएको अतिक्रमणको व्यवहार कुनै नयाँ होइन ।’
सन् २०१७ मा डोक्लाम र सन् २०२० मा लद्दाखमा आक्रमण भएको प्रति लक्षित गर्दै उनले भने, ‘दुबै क्षेत्रमा भौतिक संरचनाहरु बनाइएका छन् । अहिले सिंगो कोरोना भाइरस महामारीको नियन्त्रणमा लागिरहेको बेला चीनले जानाजान सीमा समस्या उत्पन्न गराएको छ ।’
उनले चीनले नेपालमा पनि केही परिवर्तनहरु गराएको र चिनियाँ गतिविधि नेपालमा पनि बढिरहेको बताएका दावी गरेका छन् ।
उनले भने,‘चीनले नेपाललाई समेत एक औंला ठानेकोले उक्त औंला अहिले चीनले हल्लाइरहेको छ । जसले भारतमाथि दबाब सिर्जना गर्न सजिलो भइरहेको छ ।’ उनले यो चीनको दीर्घकालीन विस्तारवादी रणनीतिको हिस्सा भएको पनि बताएका छन् । अमेरिका र युरोपियन मुलुकहरुले अहिले चीनमा कोरोना भाइरसको उत्पत्तिको अनुसन्धान गर्नुपर्ने माग गरिरहेको भन्दै उनले अगाडि भनेका छन्, ‘हङकङमा आन्दोलन चर्किरहेको छ । उइगरलगायतका अल्संख्यक समुदायले चीनमा आन्दोलन गरिरहेका छन् । अमेरिकासँगको व्यापारयुद्ध समाप्त भइसकेको छैन । चीनको महत्वाकांक्षी परियोजना बीआरईको विरोध भइरहेको छ ।’ यस्तो अवस्थामा चीनले यी सबै कुराबाट विश्वको ध्यान हटाउने विकल्पका रुपमा सीमा अतिक्रमण गर्ने र सीमामा सैन्य गतिविधि बढाउन लागिरहेको डा. साङ्जेको दाबी छ ।
चीन भारतसँग भएका हतियारको बारेमा पूर्ण जानकार भएको र चीनले पनि त्यही अनुसार तयारी गरेर सीमामा समस्या उत्पन्न गराउने र मुठभेडकै स्थितिका लागि पनि तयार भएको उनले बताएका छन् ।
अमेरिकाले चिनियाँ उत्पादनमा कर बढाएकोले चीनको अर्को ठूलो बजार भारत भएकाले भारतले यसको भरपूर उपयोग गर्नुपर्ने पनि तर्क गरेका छन् ।
तिब्बत निर्वासित सरकारका प्रमुख लोबसाङ तिब्बतको राजनितिक एवं आध्यात्मिक नेता दलाई लामाले राजनीतिबाट सन्यास लिएपछि नेतृत्वमा आएका थिए ।
उनले भारतको धर्मशालामा सन् २०११ मा पहिलो पटक प्रमुखको सपथ लिएका थिए भने फेरि २०१६ मा पनि उनी नै नेतृत्वमा आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया