स्थायी कमिटि बैठकमा किन गएनन् पार्टी अध्यक्ष ओली ?

काठमाडौं । शुक्रवार बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

अहिलेको अवस्थामा पार्टीभन्दा सरकारको काममा ध्यान दिनुपर्ने भएकाले अध्यक्ष ओली बैठकमा उपस्थित नभएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

यसअघि बुधवार पनि स्थायी कमिटिको बैठक बसेको थियो । उक्त बैठकमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्तव्य राखेका थिए । भने बैठकले विभिन्न ७ एजेण्डाहरु तय गरेको थियो । जसमा एससीसी नागरिकता विधेयक लगायत विषय समेटिएका थिए ।

स्थायी कमिटी बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि बढाउने भन्ने विषयमा बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । ओली र प्रचण्डबीचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डा तय गरेको थियो ।

सोहीअनुरुप बुधबारको बैठकमा एजेन्डा तय गरिनुका साथै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। त्यसबखत केहि असन्तुष्टि पनि बाहिर आएको थियो ।

आज बाँकी अन्य सदस्यहरुले आ-आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

हाल आमन्त्रितसहित गरी नेकपा स्थायी कमिटीमा ५१ सदस्यहरु रहेका छन् ।

यस्ता छन् बैठकका ७ एजेण्डा:

१. अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य

२. कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने

३. सीमा समस्या र समाधानबारे

४. सरकारको कामको समीक्षा

५. पार्टी कामको समीक्षा र सांगठिनक एकताको पूर्णता

६. एमसीसीबारे

७. विविधि । यसमा एक महिनाअघि भएको रुकम घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?